Hamro Patra
जब सुकुम्बासीले घेराउ गरे पालिका...

टीकापुर, मंसिर १७

भूमिहीन सुकुम्बासीका लागि निस्सा वितरणमा ढिलाई गरेको भन्दै आन्दोलित भएका टीकापुर वडा नं. १ का भूमिहीन सुकुम्बासीहरुले कैलालीको टीकापुर नगरपालिका केन्द्र घेराउ गरेका छन् ।

शुक्रवारदेखि तत्काल निस्सा वितरण गर्नुपर्ने माग राख्दै नगरपालिकामा तालाबन्दी गरेका भूमिहीन सुकुम्बासीहरुले नगरपालिकाले मागको सुनुवाई नगर्दै ताला खोलेको भन्दै आइतवार घेराउ गरेका हुन् ।

CMA Staff

नगरपालिकाले वडा नं. ६ मा सुकुम्बासीहरुका लागि निस्सा वितरणको कार्य शुरु गरिसक्दा समेत वडा नं. १ मा निस्सा वितरण प्रक्रिया रोकिएको भन्दै उनीहरुले घेराउ गरेका हुन् ।

अन्य वडामा शुरु भइसक्दा समेत वडा नं. १ मा निस्सा वितरण कार्य नभएकाले नगरपालिकामा तालाबन्दी गरेकोमा पालिकाले ताला खोलेपछि केन्द्र घेराउ गरिएको आन्दोलनका संयोजक पूणर्बहादुर खड्काले बताए ।

‘हाम्रा मागको सम्बोधन गर्नका लागि नगरपालिकाका जनप्रतिनिधिले लिखित रुपमा प्रतिबद्धता गर्नुपर्छ’ खड्काले भने ‘त्यसका लागि हामी नगरपालिकासँग वार्तामा बस्न तयार छौं, हामी शान्तिपूणर् रुपमा आन्दोलनका कार्यक्रम गर्छौं ।’

नगरपालिका घेराउ गर्न जम्मा भएका भूमिहीन सुकुम्बासीहरुलाई नगर प्रमुख रामलाल डगौरा थारुले सम्बोधन गरेका छन् । उनले निस्सा वितरणका लागि प्रक्रिया अघि बढेर दाबी विरोधका लागि एक हप्ते सूचना प्रकाशनको चरणमा रहेको बताए ।

‘हामी निस्सा वितरणको प्रक्रियामा लागिरहेका छौं, आज मात्रै थप तीन वडालाई दाबी विरोधका लागि सूचना प्रकाशित गर्न पत्राचार गरिसकेका छौं’ नगर प्रमुख थारुले भने ‘१० हजार बढी आवेदन गरेका छन्, यी सबै माथि छानविन गर्न, इन्ट्री गर्न समय लागेको हो, यो समस्या हामी सक्दो चाँडो टुंग्याउने प्रयासमा छौं ।’

पालिका केन्द्रमा घेराउ बन्दी गरिएपछि आज पनि नगरपालिकाका कामकारवाही प्रभावित भएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update