Hamro Patra
टीकापुर नगरपालिकामा तालाबन्दी

टीकापुर, मंसिर ८

कैलालीको टीकापुर नगरपालिका केन्द्र र वडा नं. १ को कार्यालयमा भूमिहीन सुकुम्बासीहरुले तालाबन्दी गरेका छन् ।

CMA Staff

सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउनका लागि गठित भूमि आयोगले प्रदान गर्ने निस्सा वितरणमा ढिलाई गरिएको भन्दै सुकुम्बासीहरुले नगरपालिका केन्द्र र वडा नं. १ को कार्यालयमा आज ११ बजेदेखि तालाबन्दी गरेका छन् ।

नगरपालिकाले वडा नं. ६ मा सुकुम्बासीहरुका लागि निस्सा वितरणको कार्य शुरु गरेको भए पनि अन्य वडाहरुमा शुरु नभएको भन्दै आक्रोशित भूमिहीन सुकुम्बासीहरुले पालिका केन्द्र र वडा कार्यालयमा तालाबन्दी गरेको आन्दोलनका संयोजक पूणर्बहादुर खड्काले बताए ।

‘अन्य पालिकाहरुमा पूर्जा वितरणको कार्य शुरु भइसकेको छ, हामीकहाँ अझै निस्सा वितरणको समेत टुंगो छैन’ खड्काले भने ‘तत्काल निस्सा वितरण नगरे हामी संघर्षका थप कार्यक्रमहरु गर्नेछौं ।’

इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख चिरञ्जीवी रानाले माग उठाउनु उचित भए पनि सेवाप्रवाह नै रोक्नु कानुन विपरीत भएको बताउँदै ताला खोल्ने प्रयास भइरहेको बताए ।

‘कार्यालय समयमा सेवाप्रवाह रोकिने गरी तालाबन्दी गर्नु कानुन विपरीत हो’ प्रमुख रानाले भने ‘तत्काल ताला खोलेर शान्तिपूणर् रुपमा आफ्ना माग राख्न सक्नुहुन्छ । हामी ताला खोल्ने प्रयास गरिरहेका छौं ।’

भूमिहीन सुकुम्बासीहरुले तालाबन्दी गरेपछि वडा र केन्द्रको काम प्रभावित बनेको छ । उनीहरुले नगरपालिकाका कर्मचारीहरुलाई बाहिर पठाएर तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण सेवा प्रवाह समेत ठप्प रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update