टीकापुर, मंसिर १३
सामुदायिक पशु चौपायाहरुको व्यवस्थापन गर्दै आएको सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समितिले गौशालाको स्तरोत्रतिका महायज्ञ गर्ने भएको छ ।
टीकापुर नगरपालिका वडा नं. २ सितापुरस्थित जनजागृती माध्यमिक विद्यालय नजिकै मंसिर १६ गतेदेखि २३ गतेसम्म टीकापुर गौशाला ज्ञान विज्ञान धार्मिक महामहोत्सव २०८० हुने भएको हो ।
महायज्ञको तयारीका लागि समितिका सचिव द्धारिकाप्रसाद जोशीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
महायज्ञबाट भएको आम्दानीबाट टीकापुरस्थित गौशालालाई व्यवस्थित गरिने संयोजक जोशीले बताए । महायज्ञमा अन्तराष्ट्रिय भागवत भूषण वाचन शिरोमणि आचार्य नारायण शरण प्रमुख वाचक रहने जनाइएको छ ।
महायज्ञमा तुला दान, अन्न दान, पितृ दान, ब्राह्मण भोजन, प्रसाद वितरण, आरती सेवा, विशेष पूजा, ब्रतवन्ध र ग्रह पूजाको व्यवस्था गरिएको छ ।
टीकापुर नगरपालिका वडा नं. २ भुराखानी जंगलमा रहेको गौशालामा रहेका सामुदायिक पशुका लागि पहिलो चरणमा पालिकाका हरेक वडाबाट ‘एक वडाः एक गोठ’ निर्माणका लागि पहल भइरहेको संयोजक जोशीले बताए ।
‘हामीले गाई संरक्षणका लागि नगद, खाद्यान्नदेखि लिएर गौशालालाई आवश्यक पर्ने सबै सामग्री दानका रुपमा लिनेछौं’ जोशीले भने ‘स्थानीय बासिन्दाले सहयोग गर्ने वचन र हौसला दिइरहेका छन् । हामी सामाजिक कामका लागि सेवा गर्न खटेका छौं ।’
२०८० साल जेठ १४ गते समितिमार्फत् टीकापुरका केही युवाहरुले सामुदायिक पशु चौपायालाई संरक्षण गरेर आयआर्जनको योजना बनाएका छन् ।