टीकापुर, मंसिर १३
विवाहमा गएका कैलालीको घोडाघोडी नगरपालिकाका एक युवकको सामुहिक कुटपिटबाट ज्यान गएको छ ।
जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका केही युवकहरुको सामुहिक कुटपिटबाट मंगलवार राति घोडाघोडी नगरपालिका वडा नं. २ का २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घेराघाटका डिल्ली कोइरालाको विवाहमा आएका अधिकारीमाथि विवाद हुँदा युवाहरुको समूहले कुटपिट गरेको थियो ।
कुटपिटबाट घाइते भएका अधिकारीलाई उपचारका लागि टीकापुर अस्पताल पुर्याइएको थियो । टीकापुर अस्पतालका चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका हुन् ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्की-चुहा नगरपालिका-९ का २८ वर्षीय विर्ख भुल, २४ वर्षीय सोनु साउँद, २३ वर्षीय चक्र कुँवर, २० वर्षीय अकेश कुँवर, २३ वर्षीय निवन केसी, २५ वर्षीय रामलाल चौधरी र २४ वर्षीय विशाल कुमाल छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।