Hamro Patra
फूलखेतीमा रमाएका सीताराम

योगेश रावल
टीकापुर, कात्तिक ८
हिन्दु धर्मावलम्बीहरुको प्रमुख चाड मध्येको एक तिहार घरआँगनमा भित्रिएको छ । तिहारमा भाइबहिनिबीचको सम्बन्ध खाश रहन्छ । अझ त्यसमा फूलमालाको विशेष महत्व छ । फूलमालामा पनि अझ मखमली, सयपत्री, सुपारी लगायतको त झन महत्व नै बेग्लै हुने गर्छ ।

तिहारको आगमनले सबैलाई व्यस्थ बनाएको छ । अझ टीकापुर नगरपालिका–१ वनगाउँ दक्षिण पुरुवाका सीताराम चौधरीको व्यस्थता अरुको भन्दा धेरै छ । विगत एक वर्षदेखी सयपत्री फूलको खेती गर्दै आएका चौधरीलाई फूलमालाको अर्डरले निकै व्यस्थ बनाएको छ ।

इन्द्रेणी फ्लोरिकल्चर एण्ड डेकोरेटर्सका सञ्चालक चौधरीले परिक्षणकै लागि भनेर २०७५ साउन ७ गते १० कठ्ठामा सयपत्री फूल रोपेका हुन । एकवर्षमै उनी फूलखेतीबाट निकै सन्तुष्ठ देखिन्छन । उनको छ जनाको परिवार फूलखेतीमा संलग्न छ ।

Khadga Memorial And Janajagriti

उनको उत्पादनले करिव १४ वटा जिल्लामा बजार ओगटेको छ । ‘सुदूरपश्चिमका सबै जिल्ला र पूर्वतर्फ बर्दिया, बाँके, सुर्खेत, दाङ लगायतका जिल्लासम्म खपत भैरहेको छ’ उनले भने–‘काठमाण्डौंबाट समेत केही ब्यापारीले माग गरेका छन ।’

उनले यसैवर्ष थप डेढ विगाहमा फूल खेती विस्तार गर्ने योजना रहेको सुनाए । उनले विस्तार भएको जमिन मध्ये १० कठ्ठामा सयपत्रीलाई नै निरन्तरता दिने १ विगाहमा गुलाब र ग्ल्याडुलस फूल रोप्ने सोच रहेको बताए ।

चौधरीका अनुसार फूल खेतीबाट अन्य अन्नबाली भन्दा चार गुणा बढी आम्दानी गर्न सकिन्छ । उनले एक पटक रोपेको सयपत्रीको बोट छ महिनासम्म फूल्ने गरेको बताए । उनले एउटै जमिनमा वर्षमा दुई पटक मात्रै फूलको बोट रोप्नु पर्ने बताए । सयपत्री फूल रोपेको एक महिनामै फूल्न थाल्छ । करिव डेढ महिनामा बिक्रीका लागि तयार हुने चौधरीले बताए ।

उनी राष्ट्रिय मावि मनिकापुरको व्यवस्थापन समितिमा लगातार २ कार्यकाल अध्यक्ष रहे । जहिल्यै कार्यक्रम गर्दा अतिथिका घाँटीमा पातका माला लगाउनुपर्ने वाध्यता देखे । उनले आफ्नो विद्यालयमा मात्रै हैन अन्यत्र सभा समारोहमा समेत यस्तै अवस्था देख्दै आएका थिए ।

यसै क्रममा उनको मनमा फूलखेती गर्न पाए राम्रो हुन्थ्यो भन्ने लाग्यो । उनी फूलखेतीको सम्भावनाका बारेमा अध्ययन गर्न चितवन पुगे । उनी त्यहाँ पुगेपछि फूलखेती तर्फ झन आकर्षित बन्न पुगे । उनले पहिलो पटक फूलको बेर्ना चितवनबाटै ल्याएका थिए । त्यसपछि भने आफै भारतको कलकत्ताबाट फूलको बेर्ना ल्याउने गरेका छन ।

उनले गाउँका अन्य व्यक्तिलाई समेत ज्यालादारीमा काममा लगाउने गरेका छन । फूल रोप्ने, गोडमेल गर्ने, टिप्ने र माला उन्ने लगायतका काममा स्थानीयले रोजगारी पाएका छन ।

उनले फूल टिपेको एक घण्टाको ५० रुपैयाँ र एक माला उनेको ५ रुपैयाँ दिने गरेका छन । महिलाहरुले घरमै बसेर रोजगारी पाएको प्रति चौधरी खुशी छन । ‘मैले मात्रै हैन गाउँका अन्यले पनि आम्दानी गर्न पाएका छन’ उनले भने–‘अरु व्यक्तिलाई समेत फूल खेतीमा संलग्न गराउनुछ ।’

उनले लम्कीका छोटेलाल चौधरीलाई फूलखेतीमा जोडेका छन । छोटेलालले यसैवर्ष आफ्नो ४ कठ्ठा जमिनमा सयपत्रीको बिरुवा रोपेका छन । उनी धेरै भन्दा धेरै व्यक्तिलाई फूलखेतीमा जोडेर भारतबाट आउने फूल रोक्ने सोचमा छन ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update