टीकापुुर, मंसिर ११
नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलको टीकापुर नगर सभापतिमा किरण कडायत नियुक्त भएका छन् । नेपाल तरुण दल जिल्ला कार्यसमिति कैलालीले नगर सभापतिमा कडायतलाई नियुक्त गरेका हुन् ।
लामो समयदेखि अधिवेशन हुन नसकेको तरुण दलमा टीकापुर नगरपालिका वडा नं. ६ नारायणपुरका कडायत नियुक्त भएका हुन् । जिल्ला कार्यसमितिले टीकापुरमा पदभार ग्रहण कार्यक्रमको आयोजना गरेको हो ।
जिल्ला सभापति निराजन खड्काको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका महासमिति सदस्य नवराज रावल रहेका थिए । कार्यक्रममा बोल्दै रावलले तरुण दलले वडा र टोलस्तरमा तरुण दलको विस्तार गर्न सुझाव दिए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस क्षेत्र नं. १ कैलालीका सभापति प्रकाश शाहले तरुण दलको संगठन विस्तारसँगै पार्टी समेत विस्तार हुनेमा आशावादी रहेको बताए । काँग्रेस महाधिवेशन प्रतिनिधि एवं नेपाल तरुण दल क्षेत्र नं. १ का सभापति रामबहादुर भण्डारीले तरुण युवाहरुले व्यक्तिगत जीवन भन्दा माथि उठेर समाजका लागि सोच्नुपर्ने बेला आएको बताए ।
जिल्ला अध्यक्ष खड्काले नवनियुक्त सभापति कडायतलाई बधाई दिँदै टीकापुरका ९ वटै वडाहरुमा सबै तरुण युवालाई मिलाएर संगठन विस्तार गर्नुपर्ने बताए । कार्यक्रमको सञ्चालन धनञ्जय रिमाल फकिरले गरेका हुन् ।