Hamro Patra
वीरेन्द्र विद्या मन्दिरमा भर्ती केन्द्रको निरन्तरता

योगेश रावल
टीकापुर, मंसिर ८

टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिकै आफन्तलाई जागिर लगाइएको छ । प्रधानाध्यापक फणेन्द्रराज रेग्मीले विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय चेतमान खत्री र प्रकाश खड्काका श्रीमतीहरुलाई जागिर लगाएका हुन ।

उनले खत्रीकी श्रीमती सुशीला पण्डित र खड्काकी श्रीमती दिव्या गिरीलाई पार्टटाइम (आंशिक समय) का लागि काममा लगाएको पाइएको छ ।उनीहरुसँगै रमिता न्यौपानेलाई समेत सोही प्रकृया अनुसार जागिर लगाइएको छ ।

Khadga Memorial And Janajagriti

उनीहरु तीनै जनाले असोज १६ गतेदेखि काम सुरु गरेका छन् । पण्डितले आधारभूत तह र न्यौपानेले मावि तहको अध्यापन तथा गिरीले ल्याब र कम्प्युटर हेर्ने गरी काममा खटाइएको प्रधानाध्यापक रेग्मीले जानकारी दिए ।

उनले विद्यालयमा जनशक्ति आवश्यक भएको कुरा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु समक्ष राखेपछि यिनै नाम आएकाले सोही अनुसार पार्टटाइम काममा खटाइएको बताए । विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकलाई पार्टटाइम जनशक्ति राख्न सक्ने अधिकार प्रत्यायोजन गरेको बताइएको छ ।

‘मैले मान्छे चाहिएको कुरा राखें । उहाँहरुले नाम दिनुभयो । मैले सोही अनुसार काममा खटाएको हुँ’ उनले भने –‘मैले राख्दैन भन्न सकेको भए पनि हुन्थ्यो । तर सकेन । यही गल्ती भयो । अहिले ठूलो इस्यु बन्यो ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका शिक्षा विकास तथा समन्वय इकाई कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले आवश्यकता अनुसार प्रधानाध्यापकले योग्य जनशक्तिलाई काममा खटाउन पाउने बताए ।

उनले कुन व्यक्तिलाई त्यसरी काममा खटाएको हो भन्ने बारेमा प्रधानाध्यापकले व्यवस्थापन समितिको बैठकमा भने जानकारी दिनुपर्ने बताए । उनले बैठकमा प्रकृया पुगे नपुगेको बारेमा छलफल हुने बताए ।

‘कसलाई जागिरमा राखेको हो भन्ने बारेमा मलाई कुनै आधिकारिक जानकारी छैन । तपाईहरु जस्तैले भनेपछि थाहा पाउने हो’ उनले भने – ‘बैठकमा कुरा आएपछि छलफल गरौंला ।’ उनले प्रकृया नपुगेको भए प्रधानाध्यापकको निर्णय बदर हुने जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिकै सदस्यद्वयले आफ्ना श्रीमतीलाई जागिरमा राख्न दबाव दिएको स्रोतको दाबी छ । सदस्य खत्री पदपूर्ती उपसमितिका संयोजक समेत हुन । उनले आफ्नी श्रीमतीलाई जागिर लगाएको बारेमा प्रधानाध्यापक रेग्मीलाई जानकारी भएको बताए । उनले प्रधानाध्यापक रेग्मीले काममा बोलाए पछि मात्रै आफूले थाहा पाएको बताए ।

‘मलाई साँच्चै यो विषयमा थाहा थिएन’ उनले भने –‘पार्टटाइम चाहियो भनेर बोलाएका रहेछन् । गैसके पछि नजाउ भन्ने कुरो पनि त भएन ।’

त्यस्तै अर्का सदस्य खड्काले यस विषयमा टिकाटिप्पणी हुनु स्वभाविकै भए पनि त्यत्ति ठूलो इस्यु नभएको बताए । उनले आवश्यकता भएसम्मका लागि मात्रै भएकाले आवश्यकता नभए स्वतः हट्ने बताए ।

‘पार्टटाइम थुप्रै छन । यो ठूलो विषय नै हैन’ उनले भने –‘आवश्यकता नभए पार्टटाइममा काम गर्नेले निरन्तरता नपाउन सक्छ ।’ उनले आफूहरुसँग जोडिएकाले मात्रै विषयलाई ठूलो बनाइएको बताए ।

केही समय अघि विद्यालय व्यवस्थापन समितिका सदस्य अर्जुनबहादुर ठकुल्लाकी बुहारी समिक्षा ओलीलाई पार्टटाइम काममा लगाइएको थियो । ठकुल्ला यसअघि सोही विद्यालयका खेल शिक्षक हुन । उनले राजिनामा दिए लगत्तै बुहारी ओलीलाई शिक्षिकाका रुपमा जागिरमा प्रवेश गराएका थिए ।

ठकुल्लाकी बुहारी ओली लगायत ७ जनालाई पार्टटाइमबाट करारमा नियुक्ति दिन चैत २३ गते विद्यालयले सूचना प्रकाशन गरेको छ । सो सूचना अनुसार पहिलेदेखि नै पार्टटाइममा कार्यरतलाई करारमा नियुक्ति दिने उल्लेख छ । विद्यालयमा पार्टटाइम, करार, अस्थायी र स्थायी गरी चार प्रकारका शिक्षक कर्मचारी कार्यरत छन ।

२०३१ सालमा स्थापना भएको विद्यालय कुनै बेला साबिक सुदूर तथा मध्यपश्चिमका थुप्रै विद्यार्थीहरुको आर्कषणको केन्द्र थियो । यहाँ भर्नाका लागि भनसुन गर्नुपथ्र्यो । टाढाटाढाका जिल्लाबाट सयौंको संख्यामा विद्यार्थी पढ्न आउँथे ।

तर पछिल्लो समय भर्ती केन्द्र बन्दै गएको विद्यालयको हालको अवस्था दयनीय बन्न पुगेको छ । स्रोतका अनुसार विद्यालयमा कार्यरत अधिकांश शिक्षक कर्मचारी यसैगरी प्रकृया मिचेर भर्ती गरिएका हुन ।

विद्यालय व्यवस्थापन समितिमा बस्नेहरुले नै आफ्ना मान्छे भर्ती गरेका कारण विद्यालयको अवस्था ओरालो लागेको स्थानीय बताउँछन् । उनीहरु विद्यालयमा २०४६ साल अर्थात् प्रजातन्त्र पुर्नस्थापनापश्चात् झन धेरै बेथिति मौलाएको दाबी गर्छन ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update