काठमाडौँ, मंसिर ७
सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डका थप कैदीको सजाय मिनाहा दिने राष्ट्रपतिको निणर्यविरुद्धको निवेदनमा राष्ट्रपति कार्यालयसहित सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले कारण देखाऊ आदेश दिएको हो ।
शारदा कडायत, मन्धरादेवी विष्टलगायतले गत कार्तिक २१ गते उक्त निवेदन दिएका थिए । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारी कैद मिनाहा गरिदिएपछि हरिनारायण चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरीलगायत गत असोज ३ गते रिहा भएका थिए ।
२०७२ भदौमा कैलालीको टीकापुरमा ८ सुरक्षाकर्मी र एक दूधे बालकको ज्यान जाने गरी भएको उक्त हत्याकाण्डमा जन्मकैद सजाय सुनाइएका रेशम चौधरी गणतन्त्र दिवसको अवसरमा सजाय मिनाहा पाएर गत जेठ १५ गते नै छुटेका थिए ।
रेशम चौधरीको कैद मिनाहा गर्ने राष्ट्रपतिको निणर्य बदर हुनुपर्ने माग राखी टीकापुर घटनामा श्रीमान् गुमाएकी शारदा कठायतले गत जेठ १६ गते नै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।