धनगढी, मंसिर ६
धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत निजीस्रोत शिक्षकहरूलाई नगर शिक्षकमा नियुक्ति गर्ने भएको छ ।
धनगढी उपमहानगरपालिका र निजीस्रोत शिक्षक संघर्ष समितिका बिच सोमबार भएको सहमतिमा उपमहानगरले शिक्षक विज्ञापन खोलेर हाल निजीस्रोत शिक्षकहरूलाई परीक्षाका माध्यमबाट नगर शिक्षकमा नियुक्त गर्ने भएको हो ।
उपमहानगर र निजीस्रोत शिक्षकहरू बिच भएको सहमतिमा धनगढी उपमहानगरपालिकाले नगर शिक्षक वा सो सरहको शिक्षक विज्ञापन गर्दा पहिलो चरणमा हाल सामुदायिक विद्यालयका निजी/आन्तरिक स्रोतमा कार्यरत सबै शिक्षकहरू बिच मात्र शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धात्मक परीक्षाको पाठ्यक्रम बमोजिम विज्ञापन गरी पदपूर्ति गर्ने निणर्य भएको छ ।
नगर शिक्षकको परीक्षा लिँदा निजी स्रोतका शिक्षकको हकमा उमेर हद नलाग्ने र निजी स्रोत शिक्षक मध्येबाट पदपूर्ति नभएमा वा विषयगत योग्यता नपुगी रिक्त रहेका पदमा मात्र खुला प्रतिस्पर्धात्मक परीक्षाबाट पदपूर्ति गर्ने सहमति भएको शिक्षा महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताए ।
उपमहानगरले लिने परीक्षामा विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलाउने क्रममा सामुदायिक विद्यालयको निजी स्रोतमा कार्यरत शिक्षकहरू विस्थापित भई सेवा छुटेको भए त्यस्ता शिक्षकहरूलाई पनि नगर शिक्षकहरूले पनि प्रतिस्पर्धात्मक परीक्षामा भाग लिन पाउने छन् ।
तर, ६० वर्ष उमेर पुगेका शिक्षकहरूले भने परीक्षामा भाग लिन नपाउने सहमति भएको शिक्षा महाशाखा प्रमुख खातीले बताए ।