Hamro Patra
एचआईभी संक्रमितको पीडा–भोको पेटमा एआरटी
  • योगेश रावल
    टीकापुर, चैत २२

टीकापुर नगरपालिका–८ की एचआईभी संक्रमित हरिकला (नाम परिवर्तन) का चार सन्तान छन । उनका श्रीमान दुई वर्ष अघि बिते । श्रीमानको मृत्यु पछि चार सन्तानको लालनपालनको जिम्मेवारी उनको काँधमा आएको छ ।


विपन्न परिवार । त्यसैमाथि श्रीमानको उपचारमा भएको सम्पत्ति पनि सकियो । सबै जायजेथा सकिए पछि उनलाई आफू र सन्तानको जीविकोपार्जनको चिन्ताले पिरोल्ने गरेको छ । उनी परिवारको भविष्यको चिन्ताले दुब्लाउँदै गएकी छन ।


उनीहरु सबैजना एआरटी सेवन गर्छन । एआरटी सेवन गर्ने व्यक्तिले पोसिलो खानेकुरा खानुपर्ने हुन्छ । साँझबिहानको छाक टार्न समस्या भैरहेको बेला उनीहरुका लागि पोसिलो खानेकुरा असम्भव जस्तै छ ।
पोसिलो खानेकुराको अभावमा एआरटी सेवन गर्दै आएका थुप्रै संक्रमितहरुको स्वास्थ्य अवस्था हरिकलाको जस्तै छ । उनीहरु एआरटी सेवन गरेपनि स्वस्थ देखिएका छैनन् । उनीहरु मध्ये अझ बालबालिका र महिलाको अवस्था झन दयनीय बनेको छ ।

Khadga Memorial And Janajagriti


कैलालीमा १ हजार ३३१ जना संक्रमितले एआरटी सेवन गरिरहेका छन । ती मध्ये सबैभन्दा धेरैले सेती अञ्चल अस्पतालबाट एआरटी सेवन गर्ने गरेको पाईएको छ । सेती अञ्चल अस्पतालबाट एआरटी सेवन गर्नेको संख्या ७९३ रहेको त्यहाँ कार्यरत ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन ।


त्यस्तै टीकापुर अस्पतालबाट ४७२, मालाखेतीबाट ४१ र बलिया वितरण केन्द्रबाट २५ जना संक्रमितले एआरटी सेवन गर्ने गरेको पाईएको छ । कैलालीमा महिला संक्रमितको संख्या झण्डै ७ सय र बालबालिकाको संख्या डेढ सय भन्दा माथि छ ।


उनीहरु मध्ये अधिकांश पोसिलो खानेकुराबाट बञ्चित छन । ती सबै विपन्न समुदायका बासिन्दा रहेको नवजीवन एकता समाज कैलालीका अध्यक्ष जगत भण्डारी बताउँछन । उनका अनुसार संक्रमित मध्ये पनि एकल महिलाको अवस्था अझ धेरै दयनीय छ । उनले त्यस्ता महिलाहरुले भोको पेट एआरटी सेवन गर्नुपर्ने वाध्यता रहेको बताए । ‘उनीहरुको आर्थिक अवस्था निकै कमजोर छ । साँझबिहानको छाक टार्नै समस्या छ’ उनले भने–‘यस्तो बेलामा पोसिलो खानेकुरा खाने सम्भावना नै छैन ।’


हरिकलाले छाक टार्नै समस्या भएपछि १४ वर्षको नाबालक छोरालाई छिमेकीसँगै रोजगारीका लागि भारत पठाएकी छन । छोराले महिना दिनमा पठाएको सानो कमाईले उनको परिवारको जीविकोपार्जन भैरहेको छ । ‘नाबालक छोराले पठाएको पैसाले भोको पेट भर्दै आएका छौं’ उनले भनिन्–‘यस्तो अवस्थामा पोसिलो खानेकुरा हाम्रा लागि अमृत जस्तै अमूल्य हो ।’


चिकित्सकका अनुसार संक्रमितले बाँचुञ्जेल एआरटी सेवन गर्नुपर्ने हुन्छ । एआरटी सेवनसँगै पोसिलो खानेकुरा खाने संक्रमितको स्वास्थ्य अवस्था खाशै बिग्रिदैन । उनीहरुलाई एआरटीसँगै पोसिलो खानेकुराको अति आवश्यकता पर्छ । पोसिलो खानेकुरा नखाए एआरटीले उल्टै स्वास्थ्यमा असर पार्ने चिकित्सकहरु बताउँछन ।


सरकारले २ वर्ष एचआईभी संक्रमितहरुका लागि पोषण सहयोग कार्यक्रम लागु गरेको थियो । उनीहरुले एआरटी सेवन गर्न आउँदा एआरटी सेन्टरबाटै पोसिलो खानेकुरा निशुल्क पाउँथे । सरकारले विगत ३ वर्षदेखी सो कार्यक्रम स्थगित गरेको संक्रमितहरुका क्षेत्रमा काम गर्दै आएको नव किरण प्सल कैलालीका प्रमुख अर्जुन ज्ञवालीले बताए ।


उनले संक्रमित बालबालिकाहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर संस्थाले आर्थिक सहयोग गर्दै आएको जानकारी दिए । उनका अनुसार १८ वर्षमूनीका बालबालिकालाई संस्थाले मासिक एक हजार रुपैयाँ आर्थिक सहयोग गर्ने गरेको छ । यसरी आर्थिक सहायता पाउनेमा १३० बालबालिका रहेका छन ।


संविधानमा असहाय÷अशक्तलाई सामाजिक सुरक्षा भित्र राख्ने उल्लेख भएपनि एचआइभी संक्रमित नसमेटिएको प्रति सरोकारवालाले चित्त दुखाएका छन । समाजका अध्यक्ष भण्डारीले आफूहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था हुनुपर्ने बताए । उनले एचआईभी संक्रमितलाई राज्यका तर्फबाट खासै सहयोग नभएको गुनासो गरे । ‘राज्यले हाम्रो समस्या सुनुवाई नै गरेको छैन’ उनले भने–‘हामी राज्यको विभेदको सिकार भैरहेका छौं ।’


केही संक्रमित महिलाहरुले भने जीविकोपार्जनका लागि विभिन्न पेशा र व्यवशाय अँगालेका छन । उनीहरु मध्ये कतिपयले बाख्रापालन, तरकारी खेती, सिलाईकटाई, ब्यूटिपार्लर लगायतका काम गर्दै आएका छन । ती महिलाहरुलाई केही संघसंस्थाहरुले सघाएका पनि छन । विभिन्न पेशा र व्यवशायमा लागेपछि केही महिलाहरुको आर्थिक अवस्थामा भने केहीहदसम्म सुधार समेत आएको छ ।

प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update