Hamro Patra
टीकापुरको आरएमई स्कुलका विद्यार्थी चीन जान पाउने

टीकापुर, मंसिर ४

कैलालीको टीकापुरस्थित रेडियन्ट मोन्टेश्वरी इंग्लिस स्कुलले छिमेकी चीनको बेजिङ इन्टरनेशनल चाइनिज कलेजसँग सम्झौता गरेको छ । १३ नोभेम्बरदेखि २२ नोभेम्बरसम्म चीनको बेइजिङमा भइरहेको ग्लोबल समिटमा स्कुलले उक्त कलेजसँग द्विपक्षीय सम्झौता गरेको हो ।

‘सेन्टर फर ल्याङ्ग्वेज, इजुकेशन एण्ड कोअपरेशन’ को आयोजनामा भइरहेको कार्यक्रमका क्रममा नेपालको संस्कृति, शिक्षा, पठनशैली र चीनको संस्कृति, शिक्षा, पठनशैली सम्बन्धी ज्ञान आदान गर्न स्कुलले कलेजसँग सम्झौता गरेको हो ।

CMA Staff

स्कुलका प्रिन्सिपल तेजराज खनालले ‘दुबै देशका विद्यार्थीबीच संस्कृति अध्ययन गर्ने एक अर्काको देश भ्रमण गर्ने, सिक्ने, सिकाउने गरी सम्झौता भएको’ बताएका छन् ।

विद्यालयका अध्यक्ष टेकराज रेग्मीले हाल चीनमा रहेका प्रिन्सिपल खनालले ब्रिटिस काउन्सिलबाट दोश्रो अवधिका लागि अवार्ड प्राप्त गरेको आरएमई स्कुलले अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न चीनको उक्त कलेजसँग सम्झौता गरिएको बताए ।

‘ब्रिटिस अवार्ड पाएपछि हामीले भर्चुअल माध्यमबाट जापान, पाकिस्तान लगायतले केही देशसँग मिलेर संस्कृति आदानप्रदान, अनुभव साटासाट गर्दै आइरहेका थियौं’ अध्यक्ष रेग्मीले भने ‘यो सम्झौतापछि निकट भविष्यमै चीनका विद्यार्थी टीकापुरमा र टीकापुरका विद्यार्थी चीन नै पुगेर अनुभव साटासाट गर्नेछन् ।’

ब्रिटिस अवार्डसँगै विद्यालयले शिक्षाको अन्तर्राष्ट्रिय वातावरण बनाउने प्रयास गरिरहेको बताउँदै चीनमा भइरहेको सम्मेलनमा दुबै विद्यार्थी पासपोर्ट नभएका कारण जान नपाएको बताए ।

‘यही वर्षको ग्लोबल समिटमा हाम्रा दुई विद्यार्थी जाने तय भएको थियो’ अध्यक्ष रेग्मीले भने ‘तर विद्यार्थीसँग तत्काल पासपोर्ट नहुँदा जान सकेनन्, यो सम्झौताले हामीलाई थप मद्दत पुग्नेछ ।’

गत वर्ष विद्यालयका प्रिन्सिपल खनालले ग्लोबल समिटमा भाग लिन रसिया पुगेका थिए । कक्षा १२ सम्म सञ्चालित विद्यालयमा दुई हजार बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update