टीकापुर, मंसिर ३
चिसोका कारण जाजरकोटमा थप ३ जना भूकम्पपीडितको मृत्यु भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले दिएको जानकारीअनुसार चिसोका कारण मृत्यु हुने भूकम्पपीडितको संख्या १० पुगेको छ ।
उनका अनुसार, जाजरकोटको जुनीचाँदे गाउँपालिका-४, लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका-१३, थानबाडाकी ५६ वर्षीया मनसरी कामी र भेरी नगरपालिका-४, तल्याउनका केशव भडेलको मंसिर २ गते मृत्यु भएको हो ।
यसअघि बारेकोट गाउँपालिका-१, रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका-२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका-४, जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका-४ का ८४ वर्षीय गोपालबहादुर रावल, नलगाड-४ की ४८ वर्षीया पम्फा रावल, बारेकोट गाउँपालिका, बयालाका ६० वर्षीय कणर्वीर विक र बारेकोट-६ ताँसीका ५५ वर्षीय वीरबहादुर विकको मृत्यु भइसकेको छ।
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा गरी १५४ जनाको मृत्यु भयो भने सयौँ घाइते भए।
भूकम्पले आंशिक र पूणर् क्षति गरी ३५ हजारभन्दा बढी घर भत्किँदा हजारौँ परिवारको बिजोग भएको छ। यो कठ्यांग्रिँदो जाडोमा उनीहरू एउटा त्रिपाल तथा कम्बलको भरमा खुला चौरमा बस्न बाध्य छन्।