टीकापुर, मंसिर २
टीकापुर उद्योग वाणिज्य संघले मदन पुरस्कार २०७९ विजेता विवेक ओझालाई आज सम्मान गरेको छ । ऐँठन उपन्यासका लेखक ओझालाई संघका अध्यक्ष चक्रपाणी सापकोटाले दोसल्ला ओढाएर सम्मान गरेका छन ।
सम्मान कार्यक्रममा बोल्दै ओझाले आफ्नो बाल्यकाल बितेको ठाउँमा सम्मानित हुन पाएकोमा खुशी व्यक्त गरे । उनले गृहनगर टीकापुरका हरेक कुरासँग आफू भावनात्मक रुपमा जोडिएको बताउँदै बाल्यकालको स्मरण गरे ।
उनले विद्यालयले नै विद्यार्थीलाई नैतिकवान र अनुशासित बनाउने बताउँदै विद्यार्थीको भविष्य विद्यालयको हातमा हुने बताए । उनले कुनैबेला शिक्षाका लागि परिचित टीकापुरलाई त्यही अवस्थामा फर्काउन सबैको साझा पहल हुनुपर्ने बताए ।
उनको शिक्षा आरम्भ टीकापुरस्थित न्यू लाईट एजुकेशन होमबाट सुरु भएको थियो । उनले माध्यमिक तहसम्मको अध्ययन सोही विद्यालयबाट गरेका थिए । उनले उच्च माध्यमिक तहको अध्ययन समेत टीकापुरबाटै गरेका छन । उनले बिरेन्द्र विद्या मन्दिर उच्च माविबाट कक्षा १२ उत्तीर्ण गरेका थिए ।
उनले स्नातकोत्तर तहसम्मको अध्ययन भने काठमाण्डौंबाट भयो । उनी सानै उमेरदेखी साहित्यतर्फ आकर्षित भएका थिए । उनले आफ्ना दाई सुशिल ओझाको लेखनबाट प्रभावित भएर साहित्यतर्फ आकर्षित भएको बताएका छन ।