टीकापुर, मंसिर १
तिहार सकिए लगत्तै टीकापुर पार्कमा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको । हरेक वर्ष तिहार लगत्तै यहाँ घुम्न आउनेको संख्या बढ्ने गर्छ ।
टीकापुर पार्कका इञ्चार्ज अर्जुनबहादुर कुँवरका अनुसार शुक्रवार सात हजारले टीकापुर पार्क अवलोकन गरेका छन । टीकापुर पार्क घुम्न आउने आन्तरिक पर्यटकबाट शुक्रवार मात्रै २ लाख ५० हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
टीकापुर पार्क घुम्न आउनेको संख्या बिहिवारदेखी बढ्न थालेको हो । बिहिवार पहिलो दिन चार हजारले टीकापुर पार्क अवलोकन गरेका छन । कुँवरका अनुसार पहिलो दिन १ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
शनिवार टीकापुर पार्क घुम्न आउनेको संख्या अत्याधिक हुनेछ । यसअघिका वर्षहरुमा समेत तिहार पछिको शनिवारको दिन घुम्न आउनेको संख्या अत्याधिक हुने गरेको छ ।
टीकापुर पार्क घुम्न आउनेमा कैलाली जिल्लाका मात्रै नभई टाढाटाढाका आन्तरिक पर्यटक समेत छन । उनीहरु विभिन्न सवारी साधन चढेर टीकापुर पार्क पुग्छन । अहिले टीकापुर पार्क सम्मको आवतजावत केही सहज भएको छ ।
लम्कीदेखी टीकापुरसम्मको सडकको आधा भाग कालोपत्रे भैसकेको छ । टीकापुर बसपार्कदेखी करिव ३ किलोमिटर टीकापुर पार्क गेटसम्मको सडक भने यसअघि नै कालोपत्रे छ ।
टीकापुर पार्क कर्णाली नदीको किनारमा अवस्थित छ । टीकापुर पार्क घुम्न आउनेहरु कर्णाली नदी किनारको आनन्द पनि लिने गर्छन । स्थानीय युवाहरुले नदीको मध्य भागमा थुप्रिएको बालुवामा आईल्याण्ड सञ्चालन गरेका छन । यसवर्ष नदीमा मोटरबोट समेत सञ्चालन गरिएको छ ।
तस्वीरः सामाजिक सञ्जालबाट