टीकापुर, कात्तिक २३
अछाममा एक जनाको हत्या आरोप लागेकी एक महिला काठमाण्डौंबाट पक्राउ परेकी छन । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ बारालाकी ३० वर्षीया लक्ष्मी सुनारलाई पक्राउ गरेको हो ।
उनलाई काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट बुधबार पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले जानकारी दिएका छन ।
प्रहरीका अनुसार अछाममा छिमेकी १८ वर्षीय दिपेन्द्रबहादुर शाहीको हत्या भएपछि उनी काठमाडौं भागेर आएकी थिइन । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउँदका अनुसार घटना कात्तिक ११ गते भएको हो । लक्ष्मी सुनारसहित ७ जनाले छिमेकी शाहीमाथि कुटपिट गरेको आरोप छ ।
कुटपिटबाट गम्भीर घाइते भएका शाहीलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको कात्तिक १६ गते मृत्यु भएको थियो । मृतक परिवारले सुरूमा ७ जनाविरूद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । मृत्यु भएपछि सातै जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ ।
तस्विरः सेतोपाटी