Hamro Patra
लम्कीचुहाका प्राय अधिकांश कालोपत्रे सडक भत्किन थाले

योगेश रावल
टीकापुर, टीकापुर २८
लम्कीचुहा नगरपालिकाले गत आर्थिक वर्ष २०७५/०७६ मा उपभोक्ता समिति मार्फत निर्माण गरेका धेरैजसो कालोपत्रे सडक भत्किन थालेका छन । विभिन्न वडामा निर्माण गरिएका ती कालोपत्रे सडक भत्किन थालेपछि स्थानीयले नगरपालिकाको कार्यशैली प्रति तिब्र आक्रोश व्यक्त गर्ने गरेको पाईएको छ ।

नगरपालिकाले उपभोक्ता समिति मार्फत विभिन्न वडामा ७ वटा सडक कालोपत्रे गरेको छ । ती मध्ये धेरैजसो भत्किन थालेको स्थानीयले बताएका छन ।

सबैभन्दा धेरै वडा नं. ८ को गप्का विद्यालयदेखी उत्तर सडकसम्मको कालोपत्रे सडक क्षतविक्षत बनेको छ । ३५० मिटर सो सडकका अधिकांश ठाउँमा ठूल्ठूला खाल्डा परेका छन । उक्त सडकमा सर्वसाधारणलाई पैदल हिड्न समेत समस्या भैरहेको छ ।
सडक कालोपत्रेको काम सुरु भएसँगै खुशी भएका स्थानीय यतिबेला भने उपभोक्ता समिति र नगरपालिका प्रति आक्रोश व्यक्त गर्न थालेका छन । सो सडक नगरपालिकाको १९ लाख लागतमा भदौ महिनामा निर्माण भएको हो ।

Khadga Memorial And Janajagriti

सो सडक निर्माणको जिम्मा उपभोक्ता समितिले निर्माण व्यवशायीलाई दिएका थिए । तिनै निर्माण व्यवशायीले काममा लापरवाही गरेपछि सडक भत्किएको स्थानीयको भनाई छ । वडाध्यक्ष पूर्ण बिष्टले समेत सडक निर्माणमा निर्माण व्यवशायीको लापरवाही रहेको बताए । उनले वर्षाको समयमा सडक कालोपत्रे नगर्न भन्दाभन्दै ठेकेदारले जबरजस्ती गरेको बताए ।

‘मैले धेरै पटक यस्तो पानी परेको बेला सडक कालोपत्रे नगर्नुस् भनेको थिए’ उनले भने–‘ठेकेदारले मानेन जबरजस्ती गरेपछि सडकको यस्तो अवस्था हुनपुग्यो ।’

उनले ठेकेदारले पूरै सडक पुर्ननिर्माण नगरे कालोसूचीमा राख्ने लगायतका कानूनी कारवाही गरिने बताए । उनका अनुसार ठेकेदारले सडक पुर्ननिर्माण गर्ने आश्वासन दिएको छ ।

उपभोक्ता समिति मार्फत निर्माण भएका अन्य कालोपत्रे सडकको अवस्था समेत यस्तै रहेको स्थानीय बताउँछन । ‘धेरै थोरै होलान् तर अन्य सडकको अवस्था पनि यस्तै क्षतविक्षत छ’ स्थानीय रमित पाण्डेले भने–‘यी सबै सडक निर्माण सम्पन्न भएको केही दिनमै भत्किन थालेका हुन ।’

नगरपालिकाले वडा नं. १ मा १९ लाखकै लागतमा थकालीपुर सी टोलमा ३५० मिटर, वडा नं. ४ मा १५ लाखको लागतमा बलियादेखी खरौलासम्म २७० मिटर र वडा नं. ४ मै मोहन बोहराको घरदेखी चौरीपुरसम्म १७ लाख १ हजारको लागतमा ३१० मिटर सडक कालोपत्रे गरेको छ ।

त्यस्तै वडा नं. ५ मा तीलकपुरदेखी चौरीसम्म ३५० मिटर, वडा नं. ६ मा स्याउलेमा ३२० मिटर र वडा नं. ७ मा खरौलागाउँमा ३५० मिटर सडक कालोपत्रे गरिएको छ । ती सबै सडकको लागत रकम १९÷१९ लाख रुपैयाँ रहेको छ ।

यी सबै सडक निर्माणको जिम्मा स्थानीय उपभोक्ता समितिले निर्माण व्यवशायीलाई दिएको पाईएको छ । निर्माण व्यवशायीले उपभोक्ता समिति, जनप्रतिनिधि र नगरपालिकाका प्राविधिक लगायतलाई प्रलोभनमा पारेर सडक निर्माणको काममा ब्यापक लापरवाही गरेको स्थानीयको आरोप छ ।

स्थानीयले निर्माण भएका सडकको गुणस्तरमा आपत्ती जनाए पछि नगरपालिकाले चासो देखाएको छ । उसले सडक निर्माण वाफतको भुक्तानी हुन बाँकी रकम निकासामा रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खड्काले रकम भुक्तानीमा रोक लगाएको जानकारी दिए ।

‘उपभोक्ता समिति मार्फत निर्माण भएका प्राय सबै सडकमा समस्या छ’ उनले भने–‘हामीले बाँकी रकम भुक्तानी रोकेका छौं ।’
उनले गुणस्तर नपुगेका सबै सडक पुर्ननिर्माण नभएसम्म रकम भुक्तानी नहुने बताए । उनले उपभोक्ताले निर्माण गरेका सडकमा केही हदसम्म प्राविधिक कमजोरी भएपनि नगरपालिकाले आँखा चिम्लेर बस्न नहुने बताए ।

तर नगरपालिकाका सब इन्जिनियर नविन पनेरुले सडक गुणस्तरहिन भए नभएको बारेमा अहिले नै केही भन्न नमिल्ने बताए । उनले निर्माण सम्पन्न भएका सडकको गुणस्तर परिक्षण भैसकेको र रिपोर्ट आउन बाँकी रहेको बताए । ‘काम भरखरै सकिएको हो’ उनले भने–‘रिपोर्ट आएपछि मात्रै गुणस्तरहिन हो वा होईन भन्न सकिन्छ ।’

उनले सबै सडकमा त्यस्तो समस्या नभएको दावी गर्दै कुनै कुनै सडक मात्रै भत्किएको बताए ।

नगरपालिकाले सोही आर्थिक वर्षमा बोलपत्र मार्फत समेत विभिन्न वडामा सडक कालोपत्रे गरेको छ । उसले ८ करोड ९४ लाख २ हजारको लागतमा विभिन्न वडामा साढे १४ किलोमिटर सडक कालोपत्रे गरेको छ । ती मध्ये कतिपय सडकको काम अझै सम्पन्न भै नसकेको नगरपालिकाको योजना शाखाले जानकारी दिएको छ । स्थानीयले बोलपत्र मार्फत निर्माण भएका कालोपत्रे सडकको अवस्था समेत सन्तोषजनक नरहेको बताएका छन । उनीहरुका अनुसार ती सडक समेत ठाउँ ठाउँमा भत्किन थालेका छन ।

प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update