Hamro Patra
जीर्ण फलामे पोलले दुर्घटना निम्त्याउने खतरा

टीकापुर, कात्तिक १९
टीकापुरमा रहेका विद्युतका फलामे पोलले दुर्घटना निम्त्याउने खतरा छ । धेरैजसो फलामे पोल टीकापुर नगरपालिका वडा नम्बर १ का विभिन्न ठाउँमा छन । वर्षौदेखीका फलामे पोल जीर्ण समेत बन्दै गएका छन ।

कतिपय फलामे पोल ढल्ने अवस्थामा छन । यस्ता पोलले कुनैपनि बेला दुर्घटना हुनसक्ने देखिन्छ । बस्ती सँगैका जीर्ण फलामे पोल देखेर डराउनुपर्ने अवस्था रहेको स्थानीय बताउँछन ।

‘अहिलेसम्म त त्यस्तो मानवीय क्षति भएको छैन’ स्थानीय बलबहादुर बोहराले भने –‘करेन्ट लागेर गाईवस्तु भने मरेका छन ।’

Khadga Memorial And Janajagriti

वर्षाको समयमा पानी पर्दा फलामे पोलमा करेन्ट प्रवाह हुन्छ । जसका कारण करेन्ट लाग्ने सम्भावना अधिक रहन्छ । मान्छेले होशियारी देखाए पनि गाईवस्तुलाई भने फलामे पोलका कारण करेन्ट लाग्ने गरेको छ ।

नेपाल विद्युत प्राधिकरणको टीकापुरस्थित कार्यालय नजिकै समेत यस्ता पोल देख्न सकिन्छ । कार्यालय परिसर भित्रै पनि फलामे पोल रहेका छन । अझ कतिपय ठाउँमा त फलामे पोल माथि ट्रान्समिटर समेत राखिएको छ ।

टीकापुर नगरपालिका वडा नम्बर १ पार्करोडमा फलामे पोल माथि ट्रान्समिटर देख्न सकिन्छ । विगत लामो समयदेखीको फलामे पोलमा खिया समेत लागेको छ । हावाहुरी चलेको समयमा ट्रान्समिटर सहितको फलामे पोल ढल्न सक्ने खतरा रहेको स्थानीय बताउँछन ।

नेपाल विद्युत प्राधिकरण टीकापुरका प्रमुख कपिल जोशीले कुनै दुर्घटना नभएसम्म फलामे पोल हटाउन आवश्यक नरहेको बताए । उनले फलामे पोलकै कारण जोखिम छ भन्न नमिल्ने बताए । ‘त्यतिधेरै जोखिम छैन । अहिले नै सबै फलामे पोल हटाउन आवश्यक पनि छैन’ उनले भने –‘कुनै समस्या भयो भने हटाउनु पर्छ । त्यतिबेला हटाउनु पर्ला ।’

नेपाल विद्युत प्राधिकरणले सकेसम्म फलामे पोल हटाउने नीति लिएको छ । उसले तत्काल सबै फलामे पोल हटाउने कुरा कठिन भएकाले पनि त्यसलाई कार्यान्वयन गर्न सकेको छैन । तत्काल काम गरेको छ भने त्यस्तो पोल हटाउन आवश्यक नहुने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । ‘बिग्रको छ भने त हटाउने नै हो’ उनले भने –‘काम गरिरहेको छ भने हटाउन परेन ।’

उनले बस्तीमा फलामे पोल हुनुले जोखिम निम्तिने कुरा भने स्विकारेका छन । उनले त्यस्तो जोखिम भएको ठाउँबाट समेत फलामे पोल तत्काल हटाउन सकिने बताए ।

टीकापुर नगरपालिका वडा नम्बर १ का कतिपय ठाउँमा विद्युत विस्तारका क्रममा तत्कालिन समयमा फलामे पोल प्रयोग गरिएका थिए । ती मध्ये कतिपय फलामे पोल भने हटाईएका छन । विद्युतले पछिल्लो समय फलामे पोलको सट्टा सिमेन्टको पोल प्रयोग गर्न थालेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update