टीकापुर, कात्तिक १९
नेकपा माओवादी केन्द्रका नेता ठगीको आरोपमा पक्राउ परेका छन । पक्राउ पर्नेमा जानकी गाउँपालिका गाउँ कमिटी सचिव जयप्रकाश दहित हुन ।
२०७९ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट जानकी गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार रहेका दहित स्थानीय मिलन कृषक समूह र हरियाली कृषक समूहका संयोजक हुन ।
उनीसँगै मिलन कृषक समूहका रञ्जित चौधरी र हरियाली कृषक समूहका रघुनाथ चौधरीलाई पनि ठगीको आरोप लागेको छ ।
उनीहरुले किसानलाई सहुलियतमा कृषियन्त्र उपलब्ध गराई दिने भन्दै रकम असुलेको बताईएको छ । उनीहरुले विभिन्न २१ जनाबाट २५ लाख ३७ हजार रुपैयाँ संकलन गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।
पीडितले तीनैजना उपर इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी दिएका छन । प्रहरीले दहितलाई कार्तिक १६ गते पक्राउ गरेको छ । घटनाका आरोपी दुईजना भने फरार रहेका छन । उनीहरुको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी हिरासतमा रहेका दहितलाई नियन्त्रणमा राखेर घटनाको अनुसन्धान गर्न जिल्ला अदालत कैलालीले आदेश दिएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी विश्वराज अधिकारीले जानकारी दिए ।