Hamro Patra
आफै सडकमा थिए अहिले बेसहाराको सहारा बने

टीकापुर, कात्तिक १८

सहारा घरले नयाँ जीवन दिएका मोहनबहादुर कुँवर बेसहाराको सहारा बनेका छन । उनी विगत छ वर्षदेखी बर्दगोरीया गाउँपालिकास्थित सहारा घरमा रहेका बेसहाराहरुको सेवा गर्दै आएका छन ।

सोही सहारा घरले उनलाई नयाँ जीवन दिएको हो । छ वर्ष अघि कैलालीको लम्कीमा सडकमा अलपत्र अवस्थामा भेटिएका उनलाई सहारा घरका सञ्चालक बलबहादुर बिष्टले उद्दार गरेका थिए । उनी मानसिक रुपमा विक्षिप्त अवस्थामा भेटिएको सञ्चालक बिष्ट बताउँछन ।

बिष्टका अनुसार उनलाई त्यतिबेला आफू को हुँ भन्ने नै थाहा थिएन । उनले आफ्ना बारेमा थप जानकारी दिनसक्ने कुरै भएन । बिष्टले अरु बेसहारा झैं कुँवरलाई समेत स्याहारसुसार गरे । सहारा घरको माहौलमा कुँवर आनन्दित हुन थाले । उनी करिव तीन महिनामै सञ्चो भए । उनले आफ्नो विगत पूरै सम्झिए ।

उनको घर बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ८ पुर्चौडी हाट हो । उनले सानै उमेरमा बुवा गुमाए । उनी परिवारको एक्लो छोरा हुन । उनका दुई बहिनी छन । उनीहरुको बिहे भैसकेको छ ।

उनले सानैमा बिहे गरे । उनका दुई छोरा र एक छोरी जन्मिए । परिवारको अवस्था सामान्य थियो । जसका कारण उनले ६ कक्षा भन्दा माथि पढ्न सकेका थिएनन् । यस्तैमा एकदिन अचानक बिरामी परे । उनी मान्छे देख्दा डराउन थाले ।

घरपरिवारले धामी झाँक्रीलाई देखाए । अस्पताल लगिदिने आफन्त थिएन । साथीभाई, छिमेकी सबैले हेला गर्न थाले । उनी झनझन एक्लो महशुस गर्न थाले । एकदिन झमझम पानी परिरहेको थियो । उनी घरबाट निस्किए ।

कैयौं दिनसम्म आफन्तले खोजी गरे । उनी कतै भेटिएनन् । उनी घर छोडेर हिँडेको छ महिना जति भैसकेको थियो । घरपरिवारले उनी जीवितै रहेको हुनसक्ने आश मारिसकेका थिए ।

उनलाई घर छोडेपछि लम्की पुग्दासम्मको कुनै कुरा थाहा छैन । जब सहारा घरमा होस आयो उनले आफूले घर छोड्नु भन्दा अघिको कुरा मात्रै सम्झिए ।

सहारा घरका सञ्चालक बिष्टले पुर्चौैडी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जनक बिष्टलाई कल गरे र कुँवरका बारेमा जानकारी दिए । बिष्ट कुँवरलाई लगेर आफै पुर्चौडी हाट पुगे । कुँवरलाई परिवारको जिम्मा लगाए । मानसिक समस्या भएपछि घर छोडेर हिँडेको छोरो सकुशल घर फर्किए पछि आमा निकै खुशी भईन । उनका श्रीमती र छोराछोरी समेत निकै खुशी भए ।

उनी करिव तीन महिना जति घरपरिवारसँगै बसे । तर उनको मन भने सहारा घरमै थियो । उनले त्यहाँ रहेका बेसहारालाई सम्झिरहन्थे । आफूलाई सञ्चो भैसकेपछि उनले झण्डै पाँच महिना बेसहाराको सेवा गरेका थिए । उनले आफू छिट्टै सञ्चो हुनुको कारण आफू जस्तै बेसहारालाई सहयोग गर्नु भएको महशुस गरेका छन । ‘म यिनीहरुलाई सहयोग गरेकै कारण छिट्टै निको भएको हुँ’ उनले भने –‘मलाई बेसहाराको आशीवार्द लाग्यो ।’

सहारा घरमा बेसहाराको संख्या दिनदिनै थपिदै गयो । सञ्चालक बिष्ट एक्लैलाई निकै धौधौ भयो । एकदिन उनीहरु दुई जनाबीच कुराकानी भयो । बिष्टले एक्लै समस्या भएको कुरा सुनाए । कुँवर बिष्टको कुरा सुन्ने बित्तिकै घर छोडेर हिँडे । तर यो पटक घरपरिवारसँग हाँसीखुशी विदा मागेर हिँडेका थिए ।

उनी कहिले काँही घरपरिवार भेट्न जान्छन । घरको अवस्था त्यत्ति राम्रो छैन । उनलाई सेवा गरे वाफत सञ्चालक बिष्टले केही रकम दिन्छन । सोही रकमले कुँवरको घरपरिवारको खर्च चल्ने गरेको छ । बाँकी समय उनले सहारा घरका बेसहाराको स्याहारसुसारमै बिताउने गरेका छन । ‘घरमा मन बस्दैन’ उनले भने –‘यिनीहरुकै चिन्ता लागेर आउँछ ।’

उनी ३३ वर्षका मात्रै भए । ज्यालामजदुरीको काम पनि गर्न सक्छन । परदेश गएर नोकरी समेत गर्न सक्छन । तर उनलाई सहारा घर भन्दा अन्त काम गर्ने मन नै छैन । उनी अन्त काम गर्दा कतै पूरानै समस्या बल्झिने हो कि भन्ने चिन्ता लाग्ने बताउँछन । ‘दुःखी गरिवको सेवा गर्न पाएको छुँ । यसैमा मन रमाएको छ । कुनै चिन्ता छैन’ उनले भने –‘अन्त काम गरे फेरि उस्तै पो हुने हो कि ?’

उनले भावुक हुँदै भने–‘आखिर मलाई नयाँ जीवन दिएको पनि सहारा घरले नै त हो ।’ हिजो बिरामी हुँदा गाउँ छिमेकीले छिछि र दूरदूर गर्थे । न कोही साथीभाई थिए न कोही इष्टमित्र थिए । आफन्तहरु नै टाढा भएका थिए । तर अहिले सबैले माया गर्छन ।

सहारा घरमा अहिले ७० जना बेसहारा छन । ती मध्ये १७ जना महिला छन । उनीहरुको सम्पूर्ण रेखदेखको काम कुँवरले गर्छन । सञ्चालक बिष्टले आफ्नो अनुपस्थितिमा सहारा घरको सम्पूर्ण जिम्मेवारी कुँवरले धानेको बताए । उनले कुँवर बिना आफू अपुरो हुने बताए ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update