Hamro Patra
कर्णाली पुल नजिकै भासियो पहाड

टीकापुर, कात्तिक १७

मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको कर्णाली पुल पहिरोको समेत जोखिममा छ । पुलको उत्तर पूर्वतर्फ ठूलो पहिरो गएको छ । पुलदेखी नजिकैको पहाड भासिएको छ ।

विगत केही वर्ष यता सो पहाडमा स–सानो पहिरो जाने गरेको थियो । यसवर्षको वर्षायाममा भने पहाड नै भासिए पछि जोखिम बढेको छ । पुलबाट करिव एक÷डेढ किलोमिटरको दूरीमा रहेको पहिरोले पुलको जमिनमूनिको भागलाई असर पार्न सक्ने देखिन्छ ।

Khadga Memorial And Janajagriti

पुल नजिकैको पहाड भासिएको बारेमा संरक्षणको जिम्मेवारी रहेको सडक डिभिजन कार्यालय बाँकेले अनभिज्ञता जनाएको छ । कार्यालय प्रमुख निरज शाक्यले पहिरोको बारेमा कुनै जानकारी नभएको बताए ।

उनले कार्यालयको क्षेत्राधिकार भित्र पुलको मर्मत सम्भार मात्रै रहेको बताए । ‘हामीले पुलको मर्मत सम्भार मात्रै गर्ने हो’ उनले भने –‘पहिरोको बारेमा अहिलेसम्म जानकारी छैन । तपाईले जानकारी दिनुभयो अब हामी हेर्छौं ।’

पहाड भासिएको ठाउँ बर्दिया राष्टिय निकुञ्ज भित्र पर्छ । निकुञ्ज भित्र पर्ने भएकाले अहिलेसम्म कसैले पनि पहिरोको स्थलगत अध्ययन गरेको पाईएको छैन । पहिरो गएको ठाउँमा जानका लागि निकुञ्जको अनुमति लिनुपर्ने बर्दिया राष्टिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक कुमार रामले जानकारी दिए ।

उनले पहिरो गएको बारेमा निकुञ्जलाई जानकारी रहेको बताए । उनले पुल र पहिरोबीचको दूरी टाढा रहेकाले तत्काल खाशै फरक नपार्ने बताए । ‘अहिले त खाशै असर गर्छ जस्तो लाग्दैन’ उनले भने –‘पहिरो बढ्दै गयो भने भविष्यमा के हुन्छ थाहा छैन । हामीले पनि अनुमान गरेरै भन्ने मात्र हो ।’

पर्यटकीय हिसाबले समेत महत्वपूर्ण चिसापानीस्थित यो पुल बेबारिसे अवस्थामा छ । सडक बोर्डले बजेट कटौती गरेपछि सडक डिभिजन कार्यालय बाँकेले पुलको सुरक्षार्थ खटिएका कर्मचारी र सुरक्षाकर्मी हटाएको थियो ।

दिनहुँ सयौंको संख्यामा सर्वसाधारण पुल हेर्न आउँछन । दशैंतिहार, नयाँवर्ष लगायतका अवसरमा पुल हेर्न आउनेको संख्या हजारौं पुग्छ । दिनहुँ सयौंको संख्यामा सवारी साधन ओहोर दोहोर गर्छन ।

पुलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सर्वसाधारणको पुलमाथिको ओहोर दोहोरलाई निगरानी गर्नुका साथै सवारी साधनको रेकर्ड समेत राख्थे । उनीहरुले सर्वसाधारणलाई पुल माथि कुनै उच्छृङ्खल गतिविधि गर्न रोक लगाउँथे ।

यो पुल २०४९ सालमा निर्माण भएको हो । निर्माण भए पश्चात अहिलेसम्म पुल रंगरोगन र मर्मत सम्भार समेत हुन सकेको छैन । यो पुल जापानीज कम्पनी कावासाकीले निर्माण गरेको हो ।

एउटै पिल्लरमा ठड्याईएको पुलले तत्कालिन समयमा सुदूरपश्चिमलाई देशका बाँकी भूभागसँग जोडेको थियो । त्यसअघि नदी पार गर्न फेरी (डोरीको सहायताले वारपार गर्ने) चढ्नु पथ्र्यो । सवारी साधन लगायत फेरी मार्फत वार पार गर्थे ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update