धनगढी, कार्तिक १७
सुदूरपश्चिम प्रदेश प्रहरीले अब अनलाइनमार्फत गुनासा तथा उजुरी लिने भएको छ । आज सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी भरत बोहोराले धनगढीस्थित प्रदेश प्रहरी कार्यालयमा उजुरी तथा गुनासो सुनुवाईका लागि क्युआर कोडको उद्घाटन गरेका छन ।
प्रहरीले आजैबाट लागु हुनेगरी क्युआर कोड स्कान गरी गुनासा तथा उजुरी गर्न मिल्ने ब्यबस्था मिलाएको छ । परम्परागत उजुरी पेटिकाले गुनासा ब्यबस्थापन त्यति प्रभावकारी नभएकाले प्रविधि मार्फत उजुरी तथा गुनासा सुनुवाई गर्न सुरु गरिएको डिआइजी बोहोराले बताए ।
उनले भने ‘अब यो ब्यबस्थामार्फत जसले जहाँबाट पनि उजुरी तथा गुनासो गर्न सक्छ, त्यसको सम्बोधनका लागि अलग्गै युनिट बनाइएको छ तत्काल रिस्पोन्स हुन्छ ।’
आजबाट प्रदेश प्रहरी कार्यलयमा क्युआर कोडको सेवा सुरु गरिएको छ भने क्रमशः जिल्ला, इलाका हुँदै तल्ला युनिट सम्म पनि यो सेवा लागु गरिने डिआईजी बोहोराले बताए ।