Hamro Patra
नागरिकता लिनेको संख्या दोब्बरले बढ्यो

टीकापुर, कात्तिक १६

इलाका प्रशासन कार्यालय टीकापुरमा नागरिकता बनाउनेको संख्या अत्याधिक बढेको छ । दशैं लगत्तै नागरिकता बनाउनेको संख्या दोब्बरले बढेको इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख चिरञ्जीवी रानाले जानकारी दिए ।

उनका अनुसार दशैं अघि दैनिक प्रत्येक दिन ७० जना सम्मले नागरिकता बनाउने गरेकोमा अहिले त्यो संख्या १ सय ४० सम्म पुग्ने गरेको छ । उनले जिल्ला प्रशासन कार्यालय कैलालीको भन्दा धेरै संख्यामा नागरिकता वितरण भैरहेको बताए ।

Khadga Memorial And Janajagriti

'हिजोआज जिल्लाको भन्दा बढी नागरिकता वितरण गर्दै आएका छौं’ उनले भने-'दशैं तिहारको समय भएकाले संख्या बढेको हो ।’ नागरिकता लिनेको संख्या अत्याधिक बढेपछि कार्यालयमा कामको चाप समेत बढेको छ । सेवाग्राहीले काम ढिलो भैरहेको गुनासो गरेका छन । उनीहरुले नागरिकता बनाउन तीन दिनसम्म लाग्ने गरेको बताए ।

लम्कीचुहा नगरपालिका वडा नम्बर ६ तिल्खाका खेमराज शर्माले तीन दिन देखी लाईनमा बस्नुपरेको बताए । उनले आफु जस्तै कैयौं व्यक्तिहरुको नागरिकता बनाउनमा ढिलाई भैरहेको सुनाए ।

जोशीपुर गाउँपालिका वडा नं. १ की ट्ंिवकल चौधरीले पनि समयमा नागरिकता नबनेको सुनाईन । नागरिकता फाँटको लाईनमा भेटिएकी चौधरीले समयमा काम नभएका कारण ढिलाई भैरहेको बताईन ।

अध्ययनका क्रममा काठमाण्डौं रहेका टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. १० का केशव जैशी समेत दशैं विदाको सदुपयोग गर्दै नागरिकता बनाउने लाईनमा भेटिए । उनले दुई दिन देखी नागरिकता बनाउने दौडधुपमा रहेको बताए ।

कार्यालय प्रमुख रानाले नागरिकता बनाउनेको संख्या बढे पनि सेवामा ढिलाई नभएको दावी गरे । उनले अघिपछिको भन्दा तुलनात्मक रुपमा समय लागे पनि दुईतीन दिन लाग्ने कुरा गलत भएको बताए ।

'सेवाग्राहीको चाप अनुसार दरबन्दी छैन तर नागरिकताकै लागि दुईतीन दिन लाग्दैन’ उनले भने-'केही प्रकृया नपुगेको भए समय लाग्न सक्छ ।’

कार्यालयमा सेवाग्राहीको संख्याको तुलनामा दरबन्दी निकै कम रहेको छ । कार्यालय प्रमुख रानाले दरबन्दी थपका लागि पहल भैरहेको जानकारी दिए ।

जिल्लाको पूर्वी भेगमा रहेका टीकापुर, लम्कीचुहा, भजनी नगरपालिकाका साथै जोशीपुर र जानकी गाउँपालिका कार्यालयको क्षेत्राधिकार भित्र पर्छन । कार्यालयमा नागरिकता मात्रै नभई राहदानी बनाउनेको संख्या समेत बढेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update