टीकापुर, कात्तिक १५
सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले धार्मिक कार्यले समाजमा सकारात्मक ऊर्जा दिने बताएका छन । टीकापुरमा आजदेखी सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै प्रमुख जोशीले धर्मले सत्मार्गमा डोर्याउने बताए ।
उनले मान्छेहरु व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदै गएको बताउँदै धर्म मासेर अर्थोपार्जन गर्न नहुने बताए । ‘अचेल मान्छेहरुमा पैसा कमाउने मात्रै ध्यान छ’ उनले भने–‘धर्म मासेर अर्थोपार्जन गर्न नहुने कुरा शास्त्रमै उल्लेख छ ।’
उनले मान्छेलाई जति नै सम्पत्ति भएपनि नपुग्ने भन्दै प्राप्त सुखदुःखमा नै सन्तुष्ट हुनुपर्ने भन्दै मानव जन्मलाई सार्थकता दिनुपर्ने बताए । ‘पैसा जति नै भएपनि पुग्दैन । आखिर मरेर लैजाने पनि हैन’ उनले भने–‘मान्छे भएकै मोक्ष प्राप्तीका लागि हो ।’
सो अवसरमा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री डा. रणबहादुर रावल, सुदूरपश्चिम प्रदेश सभा सदस्य ललिता सुनार, टीकापुर नगरपालिकाका पूर्व मेयर तपेन्द्रबहादुर रावल लगायतले बोलेका थिए ।
माण्डब्य गोत्रीय पितृ उद्दारका लागि आयोजित महायज्ञ जालवा जागरण समाज टीकापुरले आयोजना गरेको हो । आजदेखी सुरु भएको महायज्ञ २१ गतेसम्म जारी रहने समाजका अध्यक्ष तारा प्रसाद अधिकारीले जानकारी दिएका छन । महायज्ञमा कथावाचकका रुपमा नारायण तिमिल्सिना रहेका छन ।
प्रदेश प्रमुख जोशीले आजै जालवा जागरण समाज जेष्ठ नागरिक मिलन केन्द्र भवनको उद्घाटन समेत गरेका छ । मन्दिर परिसरमा निर्मित भवनमा जेष्ठ नागरिकहरु बस्ने व्यवस्था गरिने बताईएको छ ।