टीकापुर, कात्तिक १४
नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ क्षेत्रीय कार्य समितिले आज शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । टीकापुर नगरपालिकास्थित बिपी स्मृति भवनमा आयोजना भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा काँग्रेस केन्द्रिय सदस्यहरु पूर्वमन्त्री रामजनम चौधरी, रणबहादुर रावल र नृप ओडको उपस्थिति रहेको थियो । कार्यक्रममा काँग्रेस सुदूरपश्चिमका उपसभापति तथा पूर्व राज्यमन्त्री जनकराज चौधरी, काँग्रेस कैलालीका पार्टी सभापति नारायणदत्त भट्ट, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवा, संविधान सभा सदस्य बुद्धिसागर चौधरी, सुदूरपश्चिम प्रदेश सभा सदस्य ललिता सुनार लगायतको समेत उपस्थिति रहेको थियो ।
क्षेत्रीय सभापति प्रकाश शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेता कार्यकर्ताहरुले एकापसमा शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै क्षेत्रीय सभापति शाहले भाषण भन्दा एकापसमा शुभकामना आदान प्रदान गर्दा प्रभावकारी हुने बताए ।
उनले आफ्नो मन्तव्यको समापनसँगै सबै नेता कार्यकर्ताहरुलाई चियापानमा सरिक हुन अनुरोध गर्दै कार्यक्रमको औपचारिक समापन गरेका थिए । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव धनञ्जय रिमालले गरेका थिए ।