टीकापुर, कात्तिक १४
नेपाल होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष दिनेशकुमार चुकेले आन्तरिक पर्यटकका लागि टीकापुर उत्कृष्ठ गन्तव्य भएको बताएका छन् ।
कैलाली होटल व्यवसायी संघले टीकापुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष चुकेले सो कुरा बताएका हुन् ।
‘टीकापुरको ऐतिहासिक पार्क, बनानाज् आदि क्षेत्र आन्तरिक पर्यटकका लागि उत्कृष्ठ गन्तव्य हुनसक्छ’ उनले भने ‘त्यसका लागि होटल व्यवसायीको भूमिका महत्वपूर्ण छ, हामी पैसा कमाउने मात्रै होइन सेवामा पनि ध्यान दिन जरुरी छ । स्थानीय तह, प्रदेश सरकारसँग मिलेर विभिन्न कार्यक्रमका माध्यमबाट पर्यटनको प्रबद्र्धन गर्न होटल व्यवसायी आफै सक्रिय हुन आवश्यक छ ।’
आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्नु आजको आवश्यकता रहेको बताउँदै उनले एक जिल्लाका पर्यटकलाई अर्को जिल्लासम्म घुम्न आउने वातावरण बनाउन भूमिका खेल्नु पर्ने बताए ।
सुदूरपश्चिमको पर्यटन विकासका लागि पूर्वाधारको विकासमा जोड दिनु पर्ने बताएका छन् । उनले आफूसहित १३ सदस्यीय टोलीले खप्तड क्षेत्रको भ्रमण गर्दा उत्कृष्ठ पर्यटकीय गन्तव्य रहे पनि पूर्वाधारको पर्याप्त विकास नहुँदा ओझेल परेको बताए ।
‘खप्तड निकै प्रचुर सम्भावना भएको क्षेत्र रहेछ’ उनले भने ‘तर त्यहाँसम्म जाने बाटो बासस्थानमा जोड दिनुपर्छ ।’ उनले होटल व्यवसायीले अन्यको मुख नताकेर आफै पनि आन्तरिक पर्यटन प्रबद्र्धनमा लाग्नु पर्नेमा जोड दिए ।
कैलाली होटल व्यवसायी संघका अध्यक्ष खेमराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा होटल व्यवसायीहरुले भोग्दै आएका समस्याहरुबारे समेत छलफल भएको थियो । कार्यक्रमको सञ्चालन उपाध्यक्ष रेबन्त साउँदले गरेका हुन् ।