बर्दिया, कार्तिक १३
रुसी सेनामा कार्यरत बर्दिया बर्दियाको राजापुर नगरपालिका वडा नं. १ मनपरीपुरका २३ वर्षीय बिबेक खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ ।
युक्रेनसँगको लडाईमा रुसका पक्षबाट लडिरहेका खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको हो । पक्राउ परेको खत्रीको भिडियो युक्रेनी सनाले सार्वजनिक गरेको छ । खत्रीले आफ्नो परिवारको आर्थिक अवस्था कमजोर रहेकोले अर्थोपार्जनकै लागि रुसी सेनामा भर्ना भएको बताएका छन् ।
खत्रीले गाउँकै स्कुलबाट १२ कक्षा पास गरे । भारतमा मजदुरी गर्ने बुवालाई पक्षाघातकी बिरामी आमाको उपचारसहित सात जनाको परिवार धान्न मुस्किल भइरहेको थियो ।
घरमा बसेर उच्च शिक्षा पढ्न नसक्ने भएपछि विवेकले पढाइसँगै कमाइ पनि हुने बाटो खोज्न थाले । त्यसै क्रममा उनले कसैबाट सुने- रुसमा पढाइसँगै कमाइ पनि हुन्छ ।
त्यसपछि आवश्यक तयारी गरेर उनी रुसी राजधानी मस्कोस्थित एक कलेजमा स्नातक अध्ययनका लागि हिँडे । त्यहाँ गएर रुसी सेनामा भर्ना भएका विवेक दुई सातायता भने युक्रेनी सेनाको कब्जामा छन् । युक्रेनी सेनाको नियन्त्रणमा पुगेको खबर सुनेपछि यता परिवारका सदस्य विक्षिप्त छन् । लामो समयदेखि प्यारालाइसिस पीडित आमा इन्द्रादेवी छोराको खबर पाएयता अचेतजस्तै भएकी छन् ।
१५ दिनअघि युक्रेनी सेनाले नियन्त्रणमा लिएपछि विवेकले घरमा भिडियो कल गर्दै आफ्नो अवस्थाबारे बताएका थिए । ‘त्यसपछि फोन आएको छैन, हामीलाई त रुसी सेनामा भर्ना भएको केही जानकारी थिएन’ विवेककी फुपू महिमा सिंहले भनिन्, ‘कसैको लहलहैमा लागेर रुसी सेनाका लागि काम गरेको होला ।’
एक आफन्तका अनुसार तीन महिनाअघि रुसी सेनामा भर्ना भएका विवेक युक्रेनविरुद्ध लड्दै आएका थिए । निम्न मध्यम वर्गीय परिवारका विवेक घरका जेठा छोरा हुन् । पढ्ने र कमाउने भन्दै उनी २०२२ अक्टोबर २३ मा रुस गएका हुन् । उनी मस्कोस्थित कलेज अफ टेक्नोलोजी एन्ड फाइनाइन्समा अध्ययन गर्दै आएका फुपू महिमाको भनाइ छ ।
घटना सार्वजनिक गर्दा कतै केही भइहाल्ने डरले कसैलाई नभनेको विवेकका भाइ विशालले बताए । ‘रुस जाने बेला आमालाई चिन्ता नगर्नूस् । म कमाएर उपचार गर्छु भनेर हिँडेका थिए,’ विशालले भने, ‘त्यहाँ गएपछि तीन महिनाअघि ३५ हजार पठाएका थिए ।’ घरमा असोज २७ मै विवेक युक्रेनको नियन्त्रणमा रहेको जानकारी पाएको उनले बताए । विवेक पक्राउबारे सामाजिक सञ्जालमा खबर सार्वजनिक भएको थियो ।
युक्रेनका पूर्वआन्तरिक मामिला उपमन्त्री एन्टोन गेरान्चेन्कोले युक्रेनको आम्दिभ्का नजिकबाट युक्रेनी सेनाले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । विवेकले रुसी मन्त्रालयमा सम्झौतामा हस्ताक्षर गरी एयरबोर्न फोर्सका लागि काम गरेको गेरान्चेन्कोले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।
बर्दिया प्रहरीका एसपी सुधीरराज शाहीले मातहतका इकाइमार्फत शुक्रबार उनको परिवारको ठेगाना पत्ता लगाएको बताए । आर्थिक अवस्था कमजोर भएकाले विवेकका बुवा जयबहादुर कामको सिलसिलामा भारतमा छन् । दुई छोरा र तीन छोरी रहेको खत्री परिवारको १० कट्ठा जग्गा छ । घरकै आशाभरोसा रहेका जेठा छोराको उद्धारका लागि परिवारले सरकारसँग पहल गरिदिन आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले उद्धारका लागि शुक्रबार नै गृह मन्त्रालयसँग समन्वय गरिएको बताए । काका पृथ्वी केसीका अनुसार विवेक काठमाडौंको तीनकुनेस्थित शैक्षिक परामर्शदाता कम्पनी एनईओ नेपालमार्फत रुस पुगेका हुन् । रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले विवेकबारे दूतावाससँग कुनै सूचना नभएको जनाएका छन् । ‘हामीले भिडियो क्लिप देख्यौं तर यस विषयमा कुनै पनि जानकारी छैन,’ उनले भने ।