धनगढी, कात्तिक १२
सुदूरपश्चिम प्रदेशमा दशैंका बेला भएका गाडी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घटस्थापनादेखी पूर्णिमासम्म भएका दुर्घटनामा ९ जनाको मृत्यु र ११ जना घाइते भएका हुन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल उप्रेतीका अनुसार कैलाली सहित पाँच जिल्लामा मात्र गाडी दुर्घटना भएका छन् ।
कैलालीमा भएका १० दुर्घटनामा पाँच जनाको मृत्यु हुँदा डडेल्धुरा, बझाङ, अछाम र बाजुरामा थप एक÷एक जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक उप्रेतीले बताए ।
विगतका वर्षजस्तै यो वर्ष पनि दुई पाङ्ग्रे सवारीसाधन बढी दुर्घटनामा परेका छन् । गत वर्ष दशैं र तिहारका बेला भएका २४ वटा दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको थियो भने ४४ जना घाइते भएका थिए । यो वर्ष भने दशैंका बेला मात्र ९ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले भने दुई पाङ्ग्रे सवारीसाधन र पैदल यात्रीलाई ठक्कर दिँदा मृतकको संख्या बढि देखिए पनि ठूलो खालको दुर्घटना नहुनुलाई सन्तोषजनक मानेको छ ।
यो वर्ष एउटै दुर्घटनाबाट धेरैको ज्यान जाने खालका ठूला दुर्घटना भएका छैनन् । ‘दुई पाङ्ग्रे सवारीसाधन र पैदल यात्रीलाई ठक्कर दिँदा मृतकको संख्या बढेको छ’, डीएसपी उप्रेतीले भने, दशैंमा सञ्चालन गरिएका जनचेतनामूलक कार्यक्रम, चालक र स्वयं यात्रु सचेत हुँदा यो वर्ष धेरै क्षति व्यहोर्नु परेन ।’
साभारः अनलाईन खबर