Hamro Patra
टीकापुरका तपेन्द्रले घुमाए चारै जज

टीकापुर, कार्तिक ११

कैलालीको टीकापुरका तपेन्द्र तिखातरीले भ्वाइस अफ नेपाल सिजन ५ को पहिलो राउण्डमा चार जना जजलाई घुमाएका छन् । देशभरबाट उत्कृष्ठ गायक छनौट गर्ने भ्वाइस अफ नेपालमा ‘विरलै मानिने’ चार जजलाई घुमाएर २२ वर्षीय तपेन्द्रले पहिलो चरण पार गरेका हुन् ।

‘ज्यानलाई पर्नु पीर पर्यो.....’ बोलको गीत गाएका तपेन्द्रले भ्वाइसका जजहरु उदय सोताङ्ग, राजेशपायल राई, मिलन नेवार र प्रमोद खरेललाई एकैपटक घुमाएका हुन् ।

Khadga Memorial And Janajagriti

टीकापुरको आरएमई स्कुलबाट विज्ञान संकायमा प्लस टु सकेर हाल काठमाडौंमा स्नातकमा अध्ययनरत तपेन्द्रले चारवटै जजलाई घुमाएर राजेशपायल राईको टिम छानेका हुन् ।

भ्वाइसको पहिलो चरण पारे गरेका तपेन्द्रले खुशी हुँदै अझ धेरै मेहनत गरिरहेको बताए । तपेन्द्रका बुवा रमेश तिखातरीले आफ्नो गायक बन्ने सपना पूरा गर्न छोराले भ्वाइसमा पहिलो चरण पार गरेपछि निकै खुशी लागेको बताए ।

‘२२/२३ वर्षअघि रेडियो नेपालमा गीत रेकर्ड गएर एल्बम निकाल्ने तयारी गरिरहेको बेला दाङ्गको भालुवाङमा बस दुर्घटना परेपछि मेरो गायक बन्ने सपना टुटेको थियो’ रमेशले भने ‘आपूmले सपना पूरा गर्न नसके पनि छोराको संगीतप्रेम देखेर उसलाई सफल गायक बनाउने सोचेको छु, पहिलो चरण पार गरेको छ, उसलाई सबैको माया, आर्शिवादको जरुरी छ ।’

पढाईमा समेत अब्बल रहेका तपेन्द्र विद्यालयमा हुने प्रतियोगितामा सहभागी हुँदै आएका थिए । २०७५ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी खुल्ला आधुनिक संगीत प्रतियोगितामा द्वितीय भएका तपेन्द्रको घर परिवार नै गायनमा रुचि भएको परिवार हो । उनका बाजे, बुवा, दिदी, भाई सबै गीत गाउँछन् ।

‘काठमाडौंमा अध्ययनसँगै संगीत समेत सिकिरहेको छ’ रमेशले भने ‘राम्रो प्लेटफर्म भ्वाइसमा गएर छोराले टीकापुरलाई चिनाइ रहँदा खुशी लागेको छ ।’

पहिलो चरणमै चारै जजको वाहवाही पाएका तपेन्द्रले भ्वाइसका अन्य चरण पार गर्न अझै मेहनत गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update