Hamro Patra
प्रहरीको सकृयतासँगै दशैंको समयमा झैझगडामा कमि

टीकापुर, कात्तिक ११

विगत वर्षहरुमा दशैं सकिए लगत्तै इलाका प्रहरी कार्यालय टीकापुरमा सर्वसाधारणको भिड हुन्थ्यो । कोही उजुरी गर्न आउँथे । कोही पक्राउ परेर ल्याईएका हुन्थे । कोही दुवै तर्फको पक्ष विपक्षमा साथ दिन आउँथे । कोही मिलापत्र गर्न ।

प्रहरी कार्यालयको गेटमा सर्वसाधारणको ओहोरदोहोर बाक्लै हुन्थ्यो । परिसर भित्र पनि समूह समूहमा छलफल भैरहेको हुन्थ्यो । कोही मिलेर जानुपर्नेमा जोड दिन्थे भने कोही दोषीलाई कानूनी कारवाहीको मागमा अडिग रहन्थे ।

CMA Staff

दशैंको समयमा दर्जन बढी गाउँमा सर्वसाधारणबिच एकापसमा झैझगडा हुन्थ्यो । कुनै कुनै वर्ष त मान्छेको ज्यानै जाने गरी झैझगडा समेत भएका छन । उनीहरु मुद्दा मामिलाका लागि प्रहरी कार्यालयमा पुग्थे । प्रहरीलाई मुद्दा मामिला मिलाउनै हम्मे हम्मे पथ्र्यो । सुरक्षा व्यवस्थामा चुकेको प्रहरी मुद्दा मामिला मिलाउने क्रममा पनि चेपुवामा नै पथ्र्यो ।

तर यसपटक प्रहरी कार्यालय सुनसान छ । सर्वसाधारणको उपस्थिति ज्यादै न्यून छ । कोजाग्रत पूर्णिमाको दिनसम्म पनि एकापसमा झैझगडा गरेर कोही मुद्दा मामिलाका लागि आएका छैनन् । ‘एकदुई ठाउँमा सामान्य वादविवाद भएको छ’ इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी विश्वराज अधिकारीले भने –‘घाउ चोट हुने गरेर कतै झैझगडा भएको खबर छैन ।’

अधिकारी विगत एक महिना अघि इलाका प्रहरी कार्यालय टीकापुरको कमाण्ड सम्हाल्न पुगेका थिए । एकातिर नयाँ ठाउँ अर्कोतिर दशैंको मुखमा कमाण्ड सम्हाल्ने कुरा चुनौतीपूर्ण हुने नै भयो । त्यसैमाथि पछिल्ला चारजना डिएसपी छोटो समयमै सरुवा भएर गएका थिए । जसका कारण प्रहरीको काम कारवाही प्रति सर्वसाधारणको भरोसा घट्दै गएको महशुस हुन्थ्यो । यो पनि उनका लागि चुनौतीको विषय थियो ।

यस्तो अवस्थामा डिएसपी अधिकारीको कार्यशैलीलाई सर्वसाधारणले नजिकबाट नियालिरहेका छन । दशैंको समयमा कुनै झैझगडा नहुनुले सर्वसाधारणको ध्यान प्रहरीको सकृयतातर्फ मोडिएको छ । प्रहरीले दशैंमा निकै सकृय ढंगले आफ्नो उपस्थिति देखाएको छ ।

कमाण्डर अधिकारीले प्रहरीलाई प्रभावकारी ढंगले परिचालन गरेको देखिन्छ । उनी आफै पनि अधिकांश समय कार्यालय बाहिरै देखिन्छन । उनले दुईवटा गाडी निरन्तर दौडाएका छन । मोटरसाइकलमा गस्ती गर्ने प्रहरीको संख्या पनि बढाएका छन । बजार क्षेत्र जहाँ भिडभाड बढी हुन्छ त्यो ठाउँमा प्रहरीलाई साइकलमा दौडाए । चारवटा साइकलमा प्रहरी सर्वसाधारणसँगै दिनभर देखियो ।

‘साइकलमा कुदेको प्रहरीले कुनै अपराध नियन्त्रण त गर्न नसक्ला तर उनीहरुको उपस्थितिले मात्रै पनि धेरै फरक पार्छ’ उनले भने –‘हाम्रो उद्देश्य सर्वसाधारणलाई सुरक्षाको अनुभूति गराउनु हो ।’

प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना हुने नै भयो । डिएसपी अधिकारीले त्यसका अलावा अपराध हुने कारण खोजे । उनले मादक पदार्थ सेवनले अपराधलाई बढाउन सक्ने निष्कर्ष निकाल्दै मादक पदार्थ सेवनमा कडाई गर्न खटाए । साँझ साढे छ बजेदेखी साढे आठ बजेसम्म ठाउँ ठाउँमा चेकिङ राखे । राति १० बजेपछि जोसुकैलाई नियन्त्रणमा राखेर अनुसन्धान गर्न थाले ।

‘मादक पदार्थ सेवनमा कडाई गर्ने बित्तिकै अपराध नियन्त्रण हुने नै भयो’ उनले भने –‘दशैंको समयमा झैझगडा नहुनुको कारण यो पनि सक्छ ।’ 

उनले लागु पदार्थ दुव्यर्सन नियन्त्रणलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेका छन । उनले लागु पदार्थ दुव्र्यसन रोकथामका लागि जनचेतनामूलक काम अघि बढाएका छन । टीकापुर नगरपालिकाका नौवटै वडामा वडा सञ्जाल गठन गरेका छन ।

सञ्जालमा प्रहरी अधिकृत संयोजक र विद्यालय, आमा समूह, स्वास्थ्य स्वयमसेविका, नागरिक समाज लगायतको उपस्थिति छ । उनले विभिन्न २५ वटा टोलमा कार्यक्रम समेत गरिसकेका छन ।

प्रहरीको सक्रियता बढेसँगै स्थानीयले सुरक्षाको अनुभूति गर्न थालेका छन् । दशैं तिहार जस्ता चाडपर्वमा मात्रै नभएर वर्षैभरि सुरक्षामा कडाई गर्नु पर्नेमा स्थानीयको जोड छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update