टीकापुर, कात्तिक १०
जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुरमा शुक्रवार दिउसो एक नवजात शिशुको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार धान काटेको खेतमा तीनचार दिनको हुनसक्ने नवजात शिशुको शव भेटिएको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी विश्वराज अधिकारीले क्षतविक्षत अवस्थामा शव भेटिएको बताए । उनका अनुसार शिशुको टाउको मात्रै प्रष्ट देखिन्छ । टाउको भन्दा मूनिको शरीर टुक्रिएको अवस्थामा भेटिएको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले शिशुको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखेको छ । पोष्टमार्टम पछि शिशुको डिएनए परिक्षण समेत गरिने डिएसपी अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार शवको लिंग पहिचान गर्न कठिन छ । शव भेटिएको वरपर जनावरको खुट्टाका छाप देखिएका छन । जनावरले शव क्षतविक्षत पारेको प्रहरीले आशंका गरेको छ ।
घटनास्थल बस्ती नजिकै रहेकाले स्थानीयले नै नवजात शिशु खेतमा फालेको हुनसक्ने प्रहरीको अनुमान छ । शव भेटिएको ठाउँबाट करिव तीन सय मिटरमा बस्ती रहेको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको डिएसपी अधिकारीले जानकारी दिए ।