Hamro Patra
प्रस्तावित रंगशालाको २२ विगाह जमिन अलपत्र

योगेश रावल
टीकापुर, असोज १७
टीकापुर नगर खेलकुद विकास समितिका नाममा रहेको २२ विगाह जमिन सदुपयोग हुन नसक्दा गौचरण बनेको छ । टीकापुर नगरपालिका–५ मा रहेको सो जमिन स्थानीयका गाईवस्तु चर्ने थलो बनेको छ । उक्त जमिन तत्कालिन टीकापुर विकास समितिले २०६६ सालमा निशुल्क उपलब्ध गराएको थियो ।

आफ्नो नाममा जमिन आएपछि समितिको पहलमा राष्ट्रिय खेलकुद परिषदले २०६८ सालमा रंगशाला निर्माणका लागि गुरुयोजना बनाएको थियो । गुरुयोजना अन्र्तगत क्रिकेट, फुटवल, ब्याडमिन्टन, पोलो लगायतका खेल मैदान र एकाडेमी भवन समेत रहेका छन ।

सरकारले डिपिआरका लागि आवश्यक बजेट विनियोजन गर्न नमान्दा रंगशाला निर्माणको काम अघि बढ्न नसकेको संलग्न व्यक्तिहरु बताउँछन । उनीहरुका अनुसार गुरुयोजनाको काम कागजमा थन्किएको छ ।

Khadga Memorial And Janajagriti

नगर खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मण थापाले डिपिआरका लागि करिव अढाई करोड रुपैयाँ आवश्यक पर्ने बताए । उनले चालु आर्थिक वर्ष २५ लाख रुपैयाँ बजेट विनियोजन भएपनि त्यो रकम प्रयाप्त नभएको बताए ।

सो रंगशाला निर्माणमा हालसम्म करिव ६० लाख रुपैयाँ खर्च भैसकेको छ । जसमध्ये २०६४ सालमा झण्डै ४० लाख रुपैयाँ विनियोजन भएको थियो । सो रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । तत्कालिन माओवादी नेता कार्यकर्ताहरुले सो रकम हिनामिना गरेको स्थानीयको आरोप छ । सो रकमबाट खेल मैदानको पश्चिमतर्फ दुई वटा सामान्य गेट र केही ठाउँमा तारजाली निर्माण भएको देखिन्छ ।

सो रकम हिनामिना भएपछि सरकारले रंगशालाका लागि बजेट विनियोजन गर्न छोडेको स्रोतको भनाई छ । त्यसपछिका वर्षहरुमा पटक पटक गरी २०/२२ लाख रुपैयाँ मात्रै बजेट विनियोजन भएको अध्यक्ष थापाले जानकारी दिए । उनले सो रकमबाट सुटिङस्थल निर्माणका साथै फुटवल र भलिवल ग्राउण्ड सम्याउने कार्य सम्पन्न भएको बताए ।

‘थोरै बजेट हुन्छ । त्यसले देखिने गरी कुनै काम गर्न सकिएको छैन’ उनले भने–‘प्रयाप्त बजेट अभावले रंगशाला निर्माणको काम अनिश्चित बन्दै गैरहेको छ ।’

रंगशालाका लागि छुट्याएको जमिन सदुपयोग नभएको देखेपछि अखिल नेपाल फुटवल संघ (एन्फा) ले चाँसो देखाएको थियो । २०७५ माघ २४ गते एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले स्थलगत निरिक्षण गरेर टीकापुरमा फुटवल टे«निङ सेन्टर स्थापनाका लागि सो जमिन उपलब्ध गराउन आग्रह गरेका थिए ।

एन्फा अध्यक्ष शेर्पाले टे«निङ सेन्टर स्थापनाका लागि राखेको प्रस्ताव सकारात्मक भएको बताउँदै समितिका अध्यक्ष थापाले पहल अघि बढाएका थिए । तर सरकारी निकायले आफ्नै पहलमा रंगशाला निर्माण गर्ने भनेपछि एन्फाको आग्रह अस्विकार गरियो ।

एन्फाले सो जमिनमा सुदूरपश्चिम प्रदेश स्तरीय टे«निङ सेन्टर स्थापना गर्ने लक्ष्य राखेको थियो । जुन जमिन उसले ४० वर्षका लागि माग गरेको थियो । एन्फाले ४० वर्षपछि निर्माण भएका सबै संरचना समितिलाई हस्तान्तरण गर्ने समेत बताएको थियो । ‘यो साह्रै राम्रो अवसर थियो’ अध्यक्ष थापाले भने–‘जसलाई सदुपयोग गर्न सकिएन ।’

समितिले रंगशाला निर्माणका लागि आवश्यक पहल गरिदिन भन्दै सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारलाई बारम्बार ताकेता गरिरहेको छ । समितिले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिँह बोहरालाई मागपत्र पेश गरेको छ । रंगशाला निर्माणका लागि दुवै तहबाट चित्त बुझ्दो प्रयास नभएको अध्यक्ष थापाले गुनासो गरे ।

उनले तारबार मात्रै गर्न सकेको भए जमिन संरक्षण हुने बताए । स्थानीयले सो ठाउँमा रहेका रुख काटेर मास्न थालेका छन । त्यहाँ साल र सिसमका रुख रहेका छन । त्यस्तै स्थानीयले माटो समेत चोरेर लैजाने गरेका छन । स्थानीयले माटो खन्न थालेपछि खेल मैदानमा ठूल्ठूला खाल्डा समेत परेका छन ।

अध्यक्ष थापाले खेलकुदका लागि यति धेरै जमिन देशभरका अन्य कुनै ठाउँमा नभएको दावी गरे । प्रयाप्त जमिन भएर पनि रंगशाला निर्माणमा भैरहेको वेवास्ताले अध्यक्ष थापालाई चित्त दुखाएको छ । उनले टीकापुरलाई राज्यका हरेक निकायले हेपेको महशुस भैरहेको बताए । ‘हामीसँग २५ जना राष्ट्रिय र ७ जना अन्तर्राष्ट्रिय खेलाडी छन’ उनले भने–‘तैपनि हाम्रो कुरा सुनिदैन ।’ रंगशाला निर्माण गर्न सके अझै धेरै खेलाडी उत्पादन हुने स्थानीयको अपेक्षा छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update