अछाम, कात्तिक ९
अछामको ऐतिहासिक बिमकोट दरबार मेल्लेख गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । बुधबार एक औपचारिक कार्यक्रमका बीच तत्कालीन बिमकोटी राजा जनकबहादुर शाहले दरबारसहित दरबारको नाममा रहेको ६ दशमलव ५ रोपनी जग्गा गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदलाई हस्तान्तरण गरेका हुन् ।
दरबार मेल्लेख गाउँपालिका वडा नम्बर ५ बिन्धेबासीनीमा अवस्थित छ । दरबारको संरक्षण तथा प्रवद्र्धन अबदेखि गाउँपालिकाले गर्ने भएको छ । बिमकोट दरबार दुईतिरबाट बिमकोटीगाड र चोटे खोलाले घेरिएको छ । जङ्गलको बीचमा अवस्थित दरबार नजिक कुनै गाउँबस्ती छैन । दरबारको सिरानीमा षोड्षादेवीको मन्दिर रहेको छ । षोड्षादेवीलाई बिमकोटे राजा तथा उनका सन्तानहरूले कुलदेवीका रूपमा पुज्दै आएका छन् ।
किंवदन्ती अनुसार बिमा राउतको सल्लाह बमोजिम दरबार बनाएका कारण सो ठाउँको नाम बिमकोट रहन गएको हो । उक्त दरबारको खाका भने महिमा नामका नवाँठानी ओडले कोरेका थिए । दरबार निर्माणका लागि एक दिनको पैदल बाटोको दूरीमा रहेको दर्बागाउँबाट ढुङ्गा ओसारिएको थियो ।
सोह्रौं शताब्दीमा निर्मित उक्त दरबार विसं १९९७ मा अस्तित्वमा आएको थियो । बिमकोट दरबार परिसरमा फारसी भाषाको शिलालेख थियो । फारसी भाषाको शिलालेख भेटिनुले थप कौतुलहता उत्पन्न गर्छ । फारसी भाषाको उक्त शिलालेख हाल षोडषादेवी मन्दिर परिसरमा राखिएको छ ।
जनकबहादुर शाहका अनुसार १९९० सालको भूकम्पमा पुरानो बिमकोट दरबार भत्किएको थियो । त्यसपछि उनका हजुरबुवा नगेन्द्रबहादुर शाहले प्राचीन दरबारभन्दा नयाँ दरबार निर्माण गरेका थिए । नयाँ दरबार निर्माण गर्न १३ वर्ष लागेको थियो । जुन दरबारले बिमकोटे राजाहरूको विरासतका रूपमा अहिले पनि खडा छ ।
सशस्त्र द्वन्द्व सुरु भएपछि भने बिमकोटे राजाका सन्तानहरूले उक्त दरबार छोडेका थिए । द्वन्द्वका कारण गाउँबस्तीदेखि टाढाको दरबार कुर्ने मानिस पनि भेटिएनन् । द्वन्द्वकै समयमा दरबारमा रहेका ऐतिहासिक कागजात, भाँडाकुँडा, ताम्रपत्र जलाएका थिए । मानिस बस्न छोेडेका कारण बिमकोट दरबार हाल जीर्ण अवस्थामा रहेको छ ।
तस्विरः खम्म खत्री