Hamro Patra
३० टन क्षमताको शीतभण्डार हस्तान्तरण

टीकापुर, कार्तिक २

सुदूरपश्चिम प्रदेश सरकार, कृषि विकास निर्देशनालयले कैलालीको लम्कीचुहा नगरपालिकालाई ३० टन क्षमताको शीतभण्डार निर्माण गरी हस्तान्तरण गरेको छ ।

CMA Staff

प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को रु. ५५ लाख बराबरको लागतमा लम्कीचुहा नगरपालिका-४ कौवापुरमा निमाणर् गरिएको उक्त शीतभण्डारको चाबी हस्तान्तरण गरिएको हो। शीतभण्डारको चाबी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरी, निर्देशनालयका निर्देशक यज्ञराज जोशी र कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले संयुक्त रूपमा नगरप्रमुख सुशीला शाहीलाई हस्तान्तरण गरे।

सो अवसरमा मन्त्री चौधरीले कृषि विकासका लागि किसानलाई गर्नुपर्ने सहयोगका लागि सरकार क्रियाशील रहेको बताए। नगर प्रमुख शाहीले शीतभण्डारको प्रयोगबाट किसानलाई राहत हुने विश्वास व्यक्त गर्दैै यसलाई कार्यविधि बनाएर छिट्टै सञ्चालनमा ल्याउने जानकारी दिए। शीतभण्डारको उपलब्धताले उत्पादन भएका कृषिउपजको व्यावस्थापन, भण्डारण र बजारीकरणमा सहयोग पुग्ने बताइएको छ।

निर्देशनालयका निर्देशक जोशीले प्रदेशका सबै नौ जिल्लामा शीतभण्डार निर्माण गरी हस्तान्तरण गर्ने सरकारको नीतिले कृषि उत्पादन र व्यवसायीकरणमा सहयोग पुग्ने बताए। कृषि ज्ञान केन्द्रका प्रमुख शर्माले ठूलो लगानीमा बढी क्षमताका शीतभण्डारको सञ्चालनभन्दा यस्ता स-साना शीतभण्डार सञ्चालन र व्यवस्थापन गर्न किसानलाई सहज हुने देखिएको बताए।

लम्कीचुहा नगरपालिकाको सहकार्यमा उक्त शीतभण्डार किसान बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालनमा ल्याउन लागेको छ। शीतभण्डारमा तीन ब्लकमा बढीमा ३० टन तकारी भण्डारण गर्न सकिने बताइएको छ।

रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update