Hamro Patra
बेमौषमी हावाहुरीले करोडौंको केराखेती नष्ट

टीकापुर, असोज ३०

बेमौषमी हावाहुरीले कैलालीमा करोडौंको केराबाली नष्ट भएको छ । हावाहुरीले किसानहरुको झण्डै एक हजार भन्दा बढी विगाहमा लगाएको केराबालीमा क्षति पुगेको छ ।

टीकापुर नगरपालिका वडा नं. ४ अस्नेहरीका किसान टेकेन्द्र धामीले अधिकांश किसानका केरा हावाहुरीले ढलेको जानकारी दिए । उनका अनुसार टीकापुर नगरपालिकामा मात्रै सात सय विगाहमा क्षति पुगेको छ ।

Khadga Memorial And Janajagriti

हावाहुरीले वर्षेनी केराबालीमा क्षति पुर्याउने गरेको छ । ॅयो हरेक वर्षको नियति जस्तै बनेको छ’ किसान धामीले भने -ॅहावाहुरी किसानका लागि महाविपत्ती जस्तै हो ।’

हावाहुरीले तयार हुँदै गरेको केरा बारीमै ढलेपछि किसान चिन्तित बनेका छन । केराका बोट किसानका बारीमा सोत्तर झैं ढलेका देख्न सकिन्छ । टीकापुर नगरपालिका वडा नं. ५ नुक्लिपुरका किसान ज्ञानबहादुर शाहीको एक विगाह केराखेती नोक्सान भएको छ ।

उनले पहिलो पटक केरा खेती गरेका हुन । उनले पहिलो पटक उत्पादन गरेको केरा बेच्न नपाउँदै हावाहुरीले बारीमै सोत्तर पारेपछि चार लाख बराबरको क्षति भएको जानकारी दिए । ॅपहिलो पटक केरा खेती गरे त्यो पनि हावाहुरीले बचाउन सकिएन’ उनले भने -ॅमलाई त पहिलो गासमा ढुंगा जस्तै भएको छ ।’

यतिबेला किसानको केरा पाक्ने अवस्थामा थियो । बारीमा लटरम्म फलेको केरा देखेर किसान दंग थिए । उनीहरु दशैं तिहारमा केरा बेच्न पाईने भयो भन्ने कुराले खुशी थिए । तर बेमौषममा आएको हावाहुरीले किसानको खुशीलाई मारिदिएको छ ।

टीकापुर नगरपालिका वडा नं. ५ नुक्लिपुरकै नरबहादुर शाहले आफ्नो नब्बे प्रतिशत केरा नोक्सान भएको बताए । उनले एक विगाहमा केरा खेती गरेका छन । ॅदशैं तिहारमा बेच्ने तयारीमा थियौं’ उनले भने -ॅएकैदिन आएको हावाहुरीले सबै स्वाहा पारिदियो ।’

वर्षेनी किसानले लाखौंको नोक्सानी व्यहोर्दै आएको भएपनि अहिलेसम्म कतैबाट क्षतिपूर्ती नपाएको दुःखेसो पोखे । उनीहरुले अहिलेसम्म कसैले पनि क्षति भएको केराबारीको अवलोकन नगरेको बताए । अहिलेसम्म कसैले क्षति भएको बारी हेरेको पनि छैन । ॅन कतैबाट क्षतिपूर्ती पाईएको छ’ कैलाली केरा उत्पादक संघका उपाध्यक्ष समेत रहेका किसान धामीले भने -ॅराज्य किसानका पिडा प्रति संवेदनशिल छैन ।’

कैलालीको पूर्वी क्षेत्र केरा खेतीका लागि परिचित छ । यहाँका किसानले राज्यसँग टीकापुरलाई केरा पकेट क्षेत्र घोषणा गर्न माग गर्दै आएका छन । राज्यले किसानको मागलाई अहिलेसम्म सम्बोधन गर्न सकेको छैन । जसका कारण किसानले केरा खेतीका नाममा सहुलियत ऋण, अनुदान, क्षतिपूर्ती पाउनबाट बञ्चित हुनुपरेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update