Hamro Patra
अमेरिका त्यागेर जन्मथलोमै रोजगारी सिर्जना

टीकापुर, असोज ३०

अमेरिका पुग्ने सपना अधिकांश नेपालीको हुन्छ । अझ त्यहाँ पुगेर नाम चलेको युनिभर्सिर्टीमा अध्ययन पश्चात अमेरिकामै जागिर खाने चाहना कसको नहोला । टीकापुरका एक युवा भने यस्तो अवसर त्यागेर जन्मथलोमै केही गरौं भनेर फर्किएका छन ।

टीकापुर नगरपालिका वडा नं. १ का ३० वर्षका विशाल बिष्ट सन् २०१६ मा अमेरिका गए । उनी त्यहाँ ५ वर्ष बसे । उनले क्यालिफोर्नियास्थित लिंकन यूनिभर्सिटीबाट एमबिए उत्तिणर् गरे । उनले ३ दशमलव ८ जिपिए सहित विशिष्ट श्रेणीमा एमबिए उत्तिणर् गरेका छन ।

Khadga Memorial And Janajagriti

एमबिए उत्तिणर् गरेपछि उनी पिएचडीका लागि भर्ना भए । दुई सेमिष्टार अध्ययन गर्दै गर्दा कोरोना महामारी फैलियो । कोरोनाका कारण नेपालबाट पैसा पठाउन सकिएन । उनले अध्ययनका लागि पैसा जुटाउन नसके पछि पिएचडी गर्ने सपना अधुरो छोडेर स्वदेश फर्किनु पर्यो ।

'मेरो नामको अघि डाक्टर लेखेको देख्ने बुबाको सपना थियो दुर्भाग्य त्यो पूरा गर्न सकेन’ उनले भने -'एक अधुरो सपना छोडेर घर फर्किनु पर्यो ।’ उनले नामको अघि डाक्टर लेख्ने सपना सपनामै सिमित भएको बताए ।

उनले अमेरिका बस्दा कहिल्यै त्यहाँको पिआर लिने सोच बनाएनन् । उनीसँगैका केही साथीहरुले अहिले ग्रिन कार्ड समेत प्राप्त गरिसकेका छन । तर उनको मनमा भने अमेरिकामै बस्नुपर्छ भन्ने कुरा कहिल्यै आएन ।

उनले चाहेको भए अमेरिकामै राम्रो जागिर पाउन सक्थे । त्यसतर्फ पनि उनले चासो दिएनन् । उनको मनमा अमेरिका पढ्ने र फर्किने भन्ने मात्रै थियो । 'मैले त्यही बस्नुपर्छ भन्ने कुरा कहिल्यै सोचेन’ उनले भने -'किनकी म त्यहाँ पढ्न मात्रै गएको थिए । मेरो मन मस्तिष्कमा जन्मथलो मात्रै थियो ।’

उनी सन् २०२१ मा स्वदेश फर्किए । उनी जन्मथलो टीकापुरमै फर्किए । उनी टीकापुर फर्किदा टीकापुरको परिचय फेरिएको थियो । अशान्त, कुनै सम्भावना नभएको मृत शहरका रुपमा टीकापुर चिनिन थालेको थियो । खासगरी २०७२ को घटना पश्चात टीकापुरको यस्तो परिचय स्थापित भएको थियो ।

उनी टीकापुरमा सम्भावना खोज्दै हिँडे । उनलाई लाग्यो टीकापुरमा कुनै न कुनै उद्योगधन्दा सुरु गर्नुपर्छ । यदि सबैले सम्भावना छैन भन्ने हो भने कुनैदिन टीकापुर साँच्चै मृत शहरमा परिणत हुनेछ ।

उनले गतवर्ष डेढ करोडको लागतमा खप्तड ब्रिकेट उद्योग सञ्चालनमा ल्याएका छन । जसले ईट्टा उद्योगमा कोईलाको विकल्पको काम गर्छ । उनका अनुसार वार्षिक दुई करोड रुपैयाँ बाहिरिन रोकिने छ । उद्योगले रोजगारी समेत सिर्जना गरेको छ । उनको सो उद्योगमा आंशिक र नियमित गरी १७ जनाले रोजगारी पाएका छन ।

उनले हालै एक अर्को उद्योग सञ्चालनमा ल्याएका छन । उनले ४ करोडको लागतमा भागेश्वर फुड एण्ड वेभरेज इण्डष्ट्रिज सञ्चालन गरेका छन । जसले प्रतिघण्टा चार हजार लिटर पानी उत्पादन गर्न सक्छ । उनले केशरी नामक पानी बोत्तल र जार दुवैमा उपलब्ध हुने जानकारी दिए । उनले पानी उद्योग स्थापनाका लागि विगत एक वर्षदेखी अध्ययन गरेको बताए ।

उनले नेपालगञ्जदेखी धनगढीसम्मको बजारलाई लक्षित गरेको बताए । 'बजारको कुनै समस्या छैन’ उनले भने -'दैनिक दुई हजार लिटर खपत गर्न सकिन्छ ।’ उनको पानी उद्योगमा हाल १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन ।

उनले आगामी एकवर्ष भित्र थप अर्को उद्योग स्थापनाको लक्ष्य रहेको बताए । उनले आगामी उद्योगका बारेमा अहिले नै सार्वजनिक नगर्ने जानकारी दिए । उनले सो उद्योग समेत आम मानिसको दैनिक जीवनसँग जोडिएको हुने बताए । 'म हरेक उद्योगलाई आम मानिसको दैनिक जीवनसँग जोड्न चाहन्छु’ उनले भने -'आम मानिसको दैनिक जीवनसँग जोड्न सके मात्रै उद्योग फस्टाउने छ ।’

उनी जन्मथलोमा रोजगारी सिर्जना गर्ने सोचले नै अमेरिका त्यागेर फर्केको बताउँछन । उनको पारिवारिक माहौल पनि व्यवशायिक छ । उनका बुबा सुरतबहादुर बिष्टले विगत लामो समयदेखी ईट्टा उद्योग सञ्चालन गर्दै आएका छन । उनको बिष्ट आयल स्टोर समेत सञ्चालनमा छ । अंकल टेकराज बिष्ट कपडा व्यवशायी हुन भने दाई विवेक बिष्ट सरिया सिमेन्टको व्यवशाय गर्छन ।

उनले जागिरे जीवनले एक निश्चित ठाउँमा मात्रै पुर्याउने बताए । उनका अनुसार आफ्नै बलबुतामा थालेको व्यवशायको दायरा निकै फराकिलो हुन्छ । उनले व्यवशायका माध्यमबाट समाजमा रचनात्मक काम गर्न समेत सहज हुने बताए । उनले पानी उद्योगको खुद नाफाको एक प्रतिशत असहाय मानिसहरुका लागि खर्च गर्ने सोच रहेको सुनाए ।

उनीसँग नेपालमा रहँदा नबिल बैंकमा छ महिना जागिर गरेको अनुभव छ । उनले अमेरिकामा निम्न स्तरको जागिर गरेको अनुभव समेत सुनाए । 'क्यालिफोर्नियामा दुई महिना शौचालय सफा गर्ने र भाँडा माझ्ने काम गर्नुका साथै केही समय वेटरको काम पनि गरे’ उनले भने -'त्यो काम मैले जीवन बुझ्नका लागि गरेको थिए ।’

उनी अमेरिका छोडेर टीकापुर फर्किए पछि धेरैले कुरा काटेका थिए । तर जन्मथलोमा उद्योग स्थापना गरेर रोजगारी सिर्जना गर्ने उनको उदेश्य थोरैले मात्रै बुझेका थिए । पछिल्लो समय उनको काम देखेर कुरा काट्ने हैन प्रशंसा गर्नेहरुको संख्या बढ्दै गएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update