Hamro Patra
गणतन्त्र र संविधानमाथि आक्रमण भइरहेको छः नेपाल

टीकापुर, असोज २५

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा संविधान र गणतन्त्र मास्ने षडयन्त्र भइरहेको बताएका छन् ।

Khadga Memorial And Janajagriti

समाजवादी जागरण अभियानअन्र्तगत १२ औं दिन कैलालीको टीकापुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधान र गणतन्त्र मास्ने षडयन्त्र भइरहेको बताएका हुन् ।

‘धरान, सर्लाही, नेपालगञ्ज लगायतका ठाउँहरुमा भइरहेका साम्प्रदायिक घटनाले देशको सामाजिक सद्भावलाई भड्काउने केही कोशिस भइरहेको छ’ नेपालले भने ‘त्यस्ता प्रयत्नहरुलाई हामीले असफल पार्नुपर्छ ।’

उनले नेपाली जनताको बीचमा लामो समयदेखि रहेको प्रेम, आपसी सद्भाव बिगार्न प्रतिगामी तत्वहरु लागिरहेको बताए । ‘संविधान जारी भएको ८ वर्ष मात्रै भयो, केही कमी कमजोरीहरु छन्, यसको अर्थ संविधान गलत छैन’ अध्यक्ष नेपालले भने ‘संविधान, गणतन्त्र, संघीयता माथि आक्रमण भइरहेको छ, यस्ता कुरामा सरकार सचेत रहोस् ।’

संसारको कुनै पनि व्यवस्था आफैंमा पूर्ण नहुने भन्दै व्यवस्थाको विकास र परिष्कारको क्रम निरन्तर रहने उनले बताए ।

अध्यक्ष नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै भने ‘जसरी गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भनेर नेपालको संसदमा बोल्नुभयो, नेपाली जनताको मन जित्नुभयो, अब सिमानाका विषयमा पनि स्पष्ट हुनुहोस् ।’

अध्यक्ष नेपालले नेपाली युवाहरुमा निराशा छाएको उल्लेख गर्दै त्यसका लागि सरकारले काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update