टीकापुर, असोज २५
गत शनिवार इजरायलमा भएको हमास विद्रोहीको आक्रमणबाट १० जना नेपाली विद्यार्थीको ज्यान गयो । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, स्कुल अफ एग्रिकल्चरका ५९ जना विद्यार्थीहरु एक महिना अघि मात्रै ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि इजरायल गएका थिए । एकजना अझै बेपत्ता छन् । उक्त घटनापछि सुदूरपश्चिम विश्वविद्यालय, विद्यार्थीको अवस्था कस्तो छ ? स्कुल अफ एग्रिकल्चरका प्रमुख सुशील न्याउपानेसँग हाम्रा कार्यकारी सम्पादक परमानन्द पाण्डेले सोध्नु भएको छ ।
इजरायलमा शनिवार भएको घटनापछि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, स्कुल अफ एग्रिकल्चरको अवस्था कस्तो छ ?
इजरायलमा शनिवार भएको घटना जुन प्यालेस्टाइन हमास समूहले गरेको आक्रमणबाट सुदूरपश्चिम विश्व विद्यालय मात्रै नभएर नेपालका त्रिभुवन विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय लगायत राष्ट नै शोकमा छौं । किनभने त्यो घटनामा प्यालेस्टाइनी हमास समूहले आक्रमण गरी सकेपछि त्यहाँ रहेका नेपाली विद्यार्थी त्यसमा पनि सुदूरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान संकाय स्कुल अफ एग्रिकल्चरका विद्यार्थीहरु माथि जुन आक्रमण भएको छ, त्यसबाट हामीलाई ठूलो क्षति पुगेको छ, हामी एकदमै मर्माहित अवस्थामा छौं ।
विश्वविद्यालयको कृषि विज्ञान संकायका पहिलो ब्याचका अग्रज विद्यार्थीहरुमाथि जुन नेपालबाट गएको महिना दिन नपुग्दै विभत्स आक्रमण भएर १० जनाले ज्यान गुमाउनु पर्यो यो घटनापछि क्याम्पसमा रहेका विद्यार्थीहरुलाई कस्तो असर पारेको छ ?
विद्यार्थीहरुको मानसिक अवस्था साह्ै नै विक्षिप्त अवस्थामा रहेको हामीले बुझेका छौं । किनभने पहिलो ब्याचको विद्यार्थीहरु आठौं सेमेस्टरका नियमित शैक्षिक कार्यक्रमहरु सकेर परीक्षा दिएर त्यसको नतिजाको पर्खाइमा बस्नु भएका विद्यार्थीहरु इजरायलमा पठाउँदै गर्दा जुन दुर्घटना भएको छ, त्यो दुर्घटनाबाट विद्यार्थीहरु साँच्चिकै सन्त्रास, भय अथवा नराम्रो अनुभूति गरिरहेको हामीले पाएका छौं । उहाँहरुलाई साह्ै नै पीडाबोध, दुःखबोध भएको छ ।
इजरायलमा विद्यार्थी पठाउँदाखेरी यहाँहरुले दुई पटक अन्तरक्रिया नै गरेर, अझ नेपालका लागि इजरायली राजदूत हनन गोडर नै दुईपटक टीकापुर पुगेर कार्यक्रममै सहभागी भएपछि इजरायल जाने विद्यार्थीहरुको उत्साह कस्तो थियो ?
टीकापुरमा २१ मंसिर २०७९ र २०८० असार २० गते दुईपटक इजरायलका महामहिम राजदूत आउनु भयो । राजदूत नै आएर इजरायलको विभिन्न सम्भावनाहरुको सर्भे गरेर त्यसपछि विद्यार्थीहरुको छनौट प्रक्रिया, अन्तरर्वाता प्रक्रियामा आफै सहभागी भएर राजदूत टीकापुर आउँदा विद्यार्थीहरुमा कृषि विज्ञान संकाय, स्कुल अफ एग्रिकल्चर र इजरायल देश बिचको एउटा सम्बन्ध, सहकार्यबाट विद्यार्थीहरुलाई एकप्रकारको तालिमको अवसर, जुन विश्वविद्यालयले इजरायल देशले दिँदैछ, त्यो अवसरका लागि विद्यार्थीहरु साह्ै नै उत्साहित भएको हामी पाउँथ्यो, उनीहरु साह्ै खुशी थिए ।
लर्न एण्ड अर्न भनेको कार्यक्रम कस्तो कार्यक्रम हो ?
लर्न एण्ड अर्न कार्यक्रम विशेष गरेर विभिन्न राष्टहरुबिच भइरहने कार्यक्रम हो । इजरायल कृषिमा एकदमै सम्पन्न, धेरै प्रगति गरेको देश हो । त्यो सन्दर्भमा त्यहाँ विभिन्न कार्यक्रमहरु, कृषिका विभिन्न उद्योगहरु भएको सन्दर्भमा त्यहाँका फार्ममा, कृषि उद्योगमा काम गर्नको निम्ति विभिन्न देशका विभिन्न विश्वविद्यालयहरुसँग उसले सहकार्य गरिरहेको अवस्था हो । यो अन्तर्गत बिएस्सी एजी ग्राजुएट भएका विद्यार्थीहरु अथवा डिप्लोमा पढ्दै गरेका विद्यार्थीहरुलाई पनि इजरायल सरकारले लर्न एण्ड अर्न कार्यक्रममार्फत् त्यो देशमा लगेर केही समय राखेर विद्यार्थीहरुलाई काम गर्दै केही सिक्दै र कमाउँदै त्यहाँ बस्ने वातावरण मिलाउने खालको प्रबन्ध गर्ने कार्यक्रम हो । विशेष गरेर विद्यार्थीहरुलाई थ्योरिटिकल अथवा शैक्षिक हिसाबले पनि विद्यार्थीलाई फाइदा होस् भन्ने उद्देश्यले केही घण्टा एकाडेमिक क्याम्पसमा पढ्ने हप्ताको एक दिन क्याम्पसमा पढ्ने र पाँच दिन प्राक्टिकल कामको हिसाबमा अथवा तालिमका रुपमा फार्महरुमा, विभिन्न कृषिका उद्योगहरुमा काम गर्ने र एक दिन विदा दिने हिसाबले विद्यार्थीहरुलाई एउटा काम सिक्ने वातावरण तयार गर्ने यो कार्यक्रम थियो ।
यो लर्न एण्ड अर्न भनिएको कार्यक्रम इजरायलको घटना पछाडि लर्न एण्ड बर्न अर्थात् पढ, दक्ष बन र ज्यान गुमाउ जस्तो भएन र ?
अहिले घटेको जुन घटना पछाडि तपाईले भने झैं देखिएको छ, केही विद्यार्थीहरु घटनामा परिसके पछाडि उहाँहरुको अनाहकमा ज्यान गएको देखेका छौं, अनाहकमा ज्यान गएको छ । साह्ै नै दुःखद् छ, अब हामी कृषि विज्ञान संकाय, स्कुल अफ एग्रिकल्चर, सुदूरपश्चिम विश्वविद्यालय हामी सबै मर्माहत अवस्थामा छौं । जुन उद्देश्य राखेर हामीले विद्यार्थीहरुलाई पठाएका थियौं, त्यो उद्देश्य हामीले प्राप्त गर्न नसकेको एउटा दुःखद् स्थिति तयार भएको छ । इजरायल देश एउटा आधुनिक विकसित देश हो । सुरक्षाको दृष्टिकोणले पनि बलियो देश भनेर हामीले बुझेका थियौं । सुरक्षाका केही मुद्दाहरु पहिले पनि उठेका थिए तर सुरक्षाको हिसाबले उनीहरु एकदमै बलियो र त्यहाँ उनीहरुको सेक्युरिटी सिस्टम एकदमै प्रभावकारी देखेर त्यहाँ विद्यार्थीहरु सुरक्षित रहन्छन् भन्ने हामीलाई लागेर नै हामीले विद्यार्थीलाई त्यहाँ पठाएका हौं । विगतका विभिन्न युनिभर्सिटीका जस्तो त्रिभुवन विश्वविद्यालय, कृषि र वन विज्ञान विश्वविद्यालयको लामो इतिहास पनि थियो । त्यहाँ विद्यार्थीहरुलाई सिक्न पठाउने पछि गएर ती विद्यार्थीहरु नेपालमै फर्किएर देशमा कृषिको आधुनिकीकरणमा सहयोग गरेको अथवा योगदान गरेको हामीले पनि सुनिरहेका थियौं । त्यो हिसाबले पनि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान विषयमा पढिरहेका विद्यार्थीहरुलाई एक्सपोजर होस्, वातावरण बनोस् त्यस्तो वातावरण विश्वविद्यालयले बनाउन सक्यो भने राम्रो प्लाटफर्म बनोस् भन्ने उद्देश्य राखेर नै हामीले त्यो गरेका थियौं, तर त्यो जुन पवित्र उद्देश्य राखेका थियौं त्यो चाहिँ हामीले प्राप्त गर्न सकेनौं, यो निकै दुःखद् छ ।
इजरायलमा रहेका विद्यार्थीहरुले अझै पनि हामी सुरक्षित छैनौ, आक्रमण जारी छ, गोलाबारी भइरहेका छन् भनिरहेका छन् । ती विद्यार्थीको अहिलेको अवस्थालाई विश्वविद्यालयले कसरी हेरेको छ ?
हामी विद्यार्थीको सुरक्षामा एकदमै संवेदनशील छौं । जुन विद्यार्थीहरु कृषि पढिरहेका अथवा आठौं सेमेस्टरको नतिजा पर्खिरहेका विद्यार्थीहरु जुन छिटै नै ग्रायजुशन हुने विद्यार्थीहरु जो भोलिका देशका कणर्धार हुन्, कृषि क्षेत्रलाई हाँक्ने एउटा उत्तराधिकारी पनि हुन् ती विद्यार्थीको सुरक्षामा हामी एकदमै संवेदनशील छौं । जुन ठाउँमा विद्यार्थीहरुलाई हामीले पठाएका थियौं, ती विभिन्न ठाउँहरु असुरक्षित भएको र केही ठाउँहरुमा अझै पनि बम बारुद भइरहेको भन्ने विद्यार्थीहरुबाटै जानकारी प्राप्त भएपछि ती ठाउँहरुबाट सुरक्षित ठाउँ लैजानको लागि प्रयास गरिरहेका थियौं । परराष्ट मन्त्रालय, नेपाल सरकार, इजरायल राजदूताबास, नेपाली राजदूताबास सम्पूणर्को सहयोगमा हिजो विद्यार्थीहरुलाई रामातनेगभ भन्ने ठाउँमा जुन इजिप्टको सीमाना नजिक पर्छ र त्यो ठाउँमा तुलनात्मक रुपमा सुरक्षित छ । त्यहाँ मिसायल आक्रमणहरु नभएको भन्ने बुझ्नमा आएकाले त्यो ठाउँमा विभिन्न निकायसँगको समन्वयमा विद्यार्थीहरु त्यहाँ पुगेका छन् । विद्यार्थीसँगको कुराकानी अनुसार उहाँहरु त्यहाँ सुरक्षित छन् भन्ने आएको छ । अब विद्यार्थीहरुले हामीलाई नेपाल फिर्ता गराउनु पर्छ भन्ने विद्यार्थीहरुको माग छ, हामी त्यही अनुसार लागि रहेका छौं ।
यहाँहरुले कैलालीबाट गएर ज्यान गुमाएका र घाइते भएका विद्यार्थीहरुका घरमै पुगेर अभिभावकसँग भेटघाट गर्नु भयो । उहाँहरुको प्रतिक्रिया कस्तो रह्यो ?
आक्रमणमा परेका विद्यार्थीहरुको दुःखद् निधन पनि भएको छ । हामी परिवारजनलाई भेट्न गयौं । यस क्षेत्रबाट नजिकै पर्ने बौनियाँ ३ कैलालीका आशिष चौधरी र घोडाघोडी नगरपालिका वडा नं. ४ जनकपुरका नारायणप्रसाद न्यौपानेको घरमा हामी पुग्यौं । त्यहाँ पुग्दा ती परिवारहरुमा रुवाबासी छ । अब विद्यार्थीहरु ती घरका साहारा थिए, जुन विदेशी भूमिमा ढलेको छ । उहाँहरुले जुन दुःखले परिश्रमले आफ्ना छोराछोरीलाई पढाएर, हुर्काएर योग्य नागरिक बनाउनु भयो ती नागरिकहरु आज विदेशी भूमिमा गएर मृत्युवरण गर्नुपर्यो, उहाँहरु साँच्चिकै शोकाकुल हुनुहुन्छ, अपूरणीय क्षति पुगेको छ । उहाँहरुमा कति दुःख छ, त्यो हामी अनुमान गर्न पनि सक्दैनौं भन्ने मलाई लाग्छ । शब्दमा बयान गर्न नसकिने खालको पीडा छ ।
तपाईहरु सहित अन्य विश्वविद्यालयहरु छन्, तपाईहरुले नै लर्न एण्ड अर्न जस्ता कार्यक्रम गर्न छोडेर इजरायल जस्तो लामो समयदेखि द्धन्द्धमा फसेको देशमा पठाउनु पर्ने अवस्था किन आयो ?
अहिलेको समयमा यो प्रश्न स्वभाविक हो । हामीले विगतको इतिहास हेर्दाखेरी विश्वविद्यालयबाट विद्यार्थीहरु जाने, विभिन्न सहकारीहरुबाट पनि इन्टर्नसीप र तालिमका लागि विद्यार्थीहरु जाने, अन्य हेल्थकेयरका रुपमा पनि जाने, रोजगारीका लागि त्यहाँ जाने खालको इतिहास पनि छ । हामीले चाहँदा नचाहँदै रोजगारको लागि केही कमाई पनि होस् केही सिकाई पनि होस् भन्ने हिसाबले नेपाली नागरिकहरु त्यहाँ जानु परेको तितो यथार्थ हामी सबै नेपालीका सामु छर्लंग नै छ । विश्वविद्यालयको हकमा पनि कृषिको सबैभन्दा राम्रो उन्नति गरेको कृषिमा धेरै नै प्रगति गरेको देश, कृषिमा आधुनिकरणमा पनि इजरायल धेरै नै अगाडि भएको हुनाले पनि विगत केही वर्षहरुको तथ्यांक हेर्दा पनि त्यहाँको सुरक्षा एकदमै बलियो, त्यहाँ विद्यार्थीहरु त्यस्तो हताहत पनि नभएको त्यस्तो खालको उनीहरुले डिफेन्स सिस्टम धेरै नै राम्रो भन्ने जानकारीको आधारमा नै विद्यार्थीहरुलाई पठाएका हौं ।
नेपालमै कृषि विज्ञान अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई प्राक्टिकल शिक्षा नेपालमै दिनुको साटो विदेश जाऊ सिकेर आऊ भनेर प्रोत्साहन गर्ने जस्तो भएनन् र हाम्रा विश्वविद्यालयहरु ?
तपाईले उठाएको प्रश्न राज्यको नीतिसँग, देशको नीतिसँग जोडिएका कुराहरु छन् । हामीले अहिले विश्वविद्यालयमा विद्यार्थीहरु एकदमै कमी हुनु, नेपाली विश्वविद्यालयमा पढ्न नचाहनु अथवा अध्ययनका लागि विदेशी विश्वविद्यालयहरु विद्यार्थीको रोजाईमा पर्नु जस्ता विभिन्न समस्याहरु हामीसँग छन् । अहिले हामीले हेर्यौं भने विश्व एउटा समुदाय, ग्लोबल सिटिजनका हिसाबले पनि गइरहेको छ, ग्लोबलाइज भइरहेको छ । विभिन्न अवसरहरु आउने गरेका छन्, ती अवसरका निम्ति विद्यार्थीहरु लालायित भएको पनि हामी देख्छौं तर यस्ता घटनाहरुले गर्दाखेरी विदेशी भूमिमा गएर परिश्रम गर्नु भन्दा पनि नेपाली भूमिमै परिश्रम गर्ने, आफ्नो पसिना बगाउने, यहाँबाट नै आयआर्जन गर्ने खालको नीति राज्यले पनि बनाउन सक्यो र विश्वविद्यालयले पनि त्यो नीतिलाई अंगिकार गर्न सक्यो भने पक्कै पनि भोलिका दिनमा नेपाली विश्वविद्यालयबाट यस्ता विभिन्न खाले प्रोगामबाट विभिन्न देशहरु पठाउनु भन्दा पनि नेपालकै विभिन्न फार्महरुमा अथवा कृषि कम्पनीहरुमा, आधुनिक फर्महरुमा विद्यार्थीहरुलाई पठाउन सक्ने वातावरण बन्यो । अथवा उनीहरुलाई राज्यले रोजगारीको अवसर दिन सकेको खण्डमा पक्कै पनि विद्यार्थीहरु देशमै रहेर सेवा गर्न सक्ने वातावरण रहने थियो जस्तो मलाई लाग्छ ।
तपाईहरुलाई एउटा आरोप लागिरहेको छ, गाजा जस्तो द्धन्द्धग्रस्त क्षेत्रमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरु सीमानाबाट २० किलोमिटरको पेरिफेरिमै पठाउनु भयो । जसले गर्दा एउटै फर्ममा काम गरेका १७ जना आक्रमणमा परे, १० जनाले ज्यान गुमाए, एक जना बेपत्ता छन्, केही घाइते छन् । यो विश्वविद्यालय चुकेको हो भन्ने जस्तो लाग्दैन ?
फेरि पनि यहाँलाई म यो कुरा स्मरण गराउन चाहन्छु, इजरायल भनेको निकै सुरक्षित देश भनेर हामी बुझ्छौं । इजरायलको डिफेन्स सिस्टम र एन्टी मिसायल सिस्टम अत्यन्तै प्रभावकारी मानिन्छ, त्यो हिसाबले हेर्दाखेरी इजरायल साँच्चिकै सुरक्षित छ भन्ने हामीलाई लागेको थियो । तर यो घटनाले, आक्रमणको इतिहास हेर्दाखेरी पनि प्यालेस्टाइन र इजरायलको द्धन्द्ध धेरै लामो समयको द्धन्द्ध हो, यो हामी सबैलाई थाहै नै छ । तै पनि इजरायलले आफ्नो सुरक्षा प्रणालीलाई मजबुद बनाएको छ, त्यहाँ विद्यार्थीहरु सुरक्षित छन भनेर इजरायलका राजदूत देखि लिएर सम्पूणर् सम्बन्धित निकायले पनि हामीलाई प्रत्याभूति गरेको अवस्था पनि हो र विद्यार्थीहरु त्यहाँ सुरक्षित छन्, हुन्छन् भन्ने लागेर नै हामीले त्यहाँ पठाएका हौं । अहिले जुन हमास समूहले आक्रमण गर्दाखेरी पनि त्यहाँ विभिन्न सुविधा हुँदाहुँदै पनि विद्रोहीहरु सीमाना नाका तोडेर हवाई मार्गबाट, स्थल मार्गबाट र जल मार्गबाट हजारौंको संख्यामा विद्रोहीहरु भित्र छिरेर आक्रमण गरेको घटनाक्रमले त्यो देखिएको छ । त्यो आफैमा नयाँ खालको घटनाक्रम विकसित भएको छ । त्यो घटनाक्रमले गर्दा विद्यार्थीहरु असुरक्षित हुन पुगे तर पहिलेको उनीहरुको वारफेयर थियो त्यो डिफेन्स गर्न सक्ने थियो । विद्रोहीहरुको जुन नयाँ योजना, तौरतरिकाले गर्दाखेरी यो हाताहाती भएको हो । विद्यार्थीहरुलाई हामीले सुरक्षित देश भनेरै पठाएका हौं तर यो दुःखद् घटना घट्न पुग्यो ।
अन्त्यमा विश्वविद्यालयको अहिलेको प्राथमिकता के हो ?
अहिलेको प्राथमिकता भनेको विद्यार्थीहरुलाई सुरक्षित तवरबाट हाम्रा विद्यार्थीहरु रामतनेगभमा उनीहरुलाई राखिएको छ । ती ठाउँबाट उनीहरुलाई सुरक्षित रुपमा नेपाल फिर्ता गराउनु पर्छ भन्ने हो । विद्यार्थीहरु पनि त्यहाँ बस्ने मनस्थितिमा नभएको काम गर्न सक्ने अवस्था नभएकाले उनीहरुलाई विना शर्त नेपालमा ल्याउनु पर्छ । एकजना विद्यार्थी विपिन जोशी, कञ्चनपुरका हुन् । उनको अवस्था के छ ? कहाँ छन् ? आधिकारिक रुपमा कसैले भन्न नसकेको अवस्था पनि छ । ती विद्यार्थीलाई छिटो भन्दा छिटो नेपाल सरकारले, दुताबासले, इजरायली सरकारले पहिचान गरेर सार्वजनिक गर्नुपर्दछ भन्ने हाम्रो आग्रह छ । साथै जुन विद्यार्थीहरु दिवंगत हुनु भएको छ, ती विद्यार्थीको शव समेत छिटो भन्दा छिटो ल्याउनु पर्छ । यसमा सरकारले सहयोग गर्नुपर्दछ ।