Hamro Patra
बेला बेला अचेत हुँदै नारायणका बुवा

टीकापुर, असोज २२

इजरायलमा भएको हमामको आक्रमणबाट ज्यान गुमाएका कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ४ जनकपुरका नारायणप्रसाद न्यौपानेका बुवा ७० वर्षीय हरिकृष्ण न्यौपाने बेला बेला अचेत हुन्छन् । उनलाई छोराको अवस्था बारे स्पष्ट जानकारी दिइएको छैन ।

Khadga Memorial And Janajagriti

‘चार दिन अघिसम्म आमासँग कुरा गरिरहेको छोराको अवस्था थाहै दिएका छैनौं’ नारायणकी दिदी मञ्जु न्यौपाने जोशीले भनिन् ‘छोरालाई सम्झिँदै बेला बेला बुवा अचेत हुने गरेका छन् ।’

५ वर्षको उमेरमै आमा गुमाएका नारायण बुवाका प्रिय थिए । तीन छोरा मध्येका माइला नारायण सानैदेखि मिलनसार, अध्ययनमा अब्बल थिए । नारायणको अध्ययन राम्रो भएपछि उनलाई पढाउन उनका जेठा दाजु र भाउजु भारतको बैंग्लोरमा काम गरिरहेका छन् ।

‘परिवार मात्रै होइन, यो समाजकै लागि उदाहरणीय काम गर्छु भन्दै कृषि सम्बन्धी ज्ञान सिकेर नेपालमै केही गर्छु भन्दै थियो’ मञ्जुले भनिन् ‘पानी समेत नपाएर, आफ्ना इच्छा, घर परिवारकै रेखदेख गर्ला भन्ने सोचेको भाई क्षणभरमै गुमाएपछि हाम्रो होस् हवास उडेको छ, आँखाका आँशु रित्तिएका छन् । हामी उसलाई अन्तिम पटक हेर्न चाहन्छौं । यसमा सरकारले ध्यान दिनुपर्छ ।’

नारायणको काठको कच्ची घर छ । एक भाई, एक दिदी, दाजु, भाउजु, आमा र बुवा छन् । उक्त घटनापछि उनको घरमा छिमेकीको भिड छ । ‘हामीले त हिजो मात्रै थाहा पाएको हौं, हाम्रो गाउँ नै शोकमा डुबेको छ’ नारायणका छिमेकी मनिलाल न्यौपानेले भने ‘गाउँका अरुले पक्की घर बनाए, उसको पढाई हेरेर बुवाले सबै लगानी उसको पढाईमै लगाएका हुन्, दुःख गरेर पढाएको छोराले कमाउने बेला विदेशमै ज्यान गुमायो । हामीसँग बोल्ने शब्द नै छैन ।’

नारायणका आफन्तले तत्काल उनीहरुको शव घर ल्याई दिन माग गरेका छन् । ‘जिउँदो त देखेनौं, मरेको लाश नै भए पनि अन्तिममा हेर्न मन छ’ मनिलालले भने ‘यसका लागि सरकारले तत्काल कदम चाल्न जरुरी छ ।’

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update