Hamro Patra
हमासको आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयका दश विद्यार्थी मारिए

टीकापुर, असोज २१
प्यालेस्टाइनी समूह हमासको आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका दश विद्यार्थी मारिएका छन । इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले दिएको जानकारी अनुसार दश जनाको ज्यान गएको छ भने तीन जना घाईते छन ।

घटनामा ज्यान जानेमा कैलालीको घोडाघोडीका नारायण न्यौपाने, बझाङ जयपृथ्वीका गणेशबहादुर नेपाली, कैलाली बौनियाका आशिष चौधरी, दार्चुला लेकमका दिपेशराज बिष्ट, धनुषा सपहीका आनन्द साह र सुनसरी मधुवनका राजेशकुमार स्वर्णकार छन ।

त्यसैगरी डोटीको पाँचनालीका राजन फूलारा, डोटीकै लामाखालका पदम थापा, सल्यान शारदाका प्रवेश भण्डारी र दार्चुला मालिकार्जुनका लोकेन्द्र सिँह धामीको समेत ज्यान गएको छ ।

Khadga Memorial And Janajagriti

उनीहरु सबै कृषि विज्ञान संकाय स्नातक तहको परिक्षा दिएर लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत इजरायल गएका थिए । हमासले इजरायलको सेडोट शहरस्थित एलोमिन कृषि फार्ममा समेत आक्रमण गरेका थिए । जहाँ उनीहरु लगायत १७ जना विद्यार्थी कार्यरत थिए ।

प्राप्त जानकारी अनुसार सो कृषि फार्ममा कार्यरत सल्यानका विधान सेजुवाल, दाङका प्रविण डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेल घाईते छन । उनीहरु सबैको अस्पतालमा उपचार भैरहेको छ । सेजुवाल र डाँगीको खुट्टामा चोट लागेको छ भने चौधरी र कट्टेल सामान्य घाईते छन ।

सोही कृषि फार्ममा कार्यरत कैलालीका बिरेन्द्र चौधरी र सल्यानका प्रमोद केसी सुरक्षित छन । चौधरी प्रहरीको र केसी कृषि फार्म सञ्चालकको सम्पर्कमा रहेको बताईएको छ । त्यहाँ कार्यरत अन्य १ जनाको अवस्था भने अझै खुल्न सकेको छैन ।

सेडोट नेगेभ कलेजले ४९ जना विद्यार्थीहरुलाई विभिन्न छवटा कृषि फार्ममा काम लगाएको थियो । उनीहरु मध्ये ११ जना डेभिडियन कृषि फार्म, नौजना बेनी अमर कृषि फार्म, चारजना काडोस फार्म, चारजना रचमिन मुगरबी फार्म र तीनजना सोरासिम कृषि फार्ममा कार्यरत छन । ती मध्ये एकजना विद्यार्थी विपिन सुवेदी उनीहरुका ग्रुप लिडर हुन ।

बेनी अमर कृषि फार्ममा कार्यरत नौजना विद्यार्थी भने सुरुदेखी नै सम्पर्कमा छन । त्यहाँ बाजुराका रमेशबहादुर कार्की, रौतहटका विनोदप्रसाद साह, कैलालीका आभाष भट्टराई, कञ्चनपुरका नरेशसिँह भण्डारी, डडेल्धुराका लोकेन्द्र बिष्ट, कैलालीका रोहित नायक, रौतहटका निरञ्जन कुमार कुसहवा, कैलालीका अरविन्द कुमार चौधरी र बाँकेका उपेन्द्र जिसी कार्यरत छन ।

त्यस्तै सोरासिम कृषि फार्ममा कार्यरत कैलालीको कल्पना जोशी, बर्दियाको शिलाकुमारी यादव र सल्यानका साधना बोहरा पनि सम्पर्कमै छन । अन्य कृषि फार्ममा कार्यरत विद्यार्थीहरु समेत सकुशल रहेको बताईएको छ ।

कृषि विज्ञान तर्फ स्नातक तहको अन्तिम सेमिष्टारका ४९ जना विद्यार्थी मध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना गएका थिए । उनीहरु मध्ये १० जना छात्रा रहेका छन । उनीहरु १० महिनाका लागि इजरायल गएका थिए । विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत साताको १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा बस्ने उल्लेख थियो । कृषि विज्ञान संकायले कार्यक्रम अन्र्तगत पहिलो पटक विद्यार्थी पठाएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update