Hamro Patra
इजरायलमा विद्यार्थी समस्यामा, कृषि विज्ञान संकाय शोकमा

टीकापुर, असोज २१

टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत कृषि विज्ञान संकाय शोकमा छ । प्यालेस्टाइन विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा विद्यार्थी परेको घटनाले कृषि विज्ञान संकाय शोकमा परेको हो ।

लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत त्यहाँ पुगेका केही विद्यार्थी घाइते भएका छन भने केही विद्यार्थी सम्पर्क बिहिन रहेको स्कुल एफ एग्रिकल्चर प्रमुख सुशील न्यौपानेले जानकारी दिए ।

Khadga Memorial And Janajagriti

उनका अनुसार तीन जना विद्यार्थीको घाइते अवस्थामा उपचार भैरहेको छ । घाइते हुनेमा टीकापुरका धनबहादुर चौधरी, गोरखाका हिमाञ्चल कट्टेल र सल्यानका विधान सेजुवाल रहेका छन । उनीहरु मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको छ ।

उनीहरु त्यहाँको एलोमिन भन्ने स्थानमा रहेको कृषि फार्ममा काम गर्थे । सोही ठाउँमा कार्यरत १७ जना मध्ये टीकापुरका विरेन्द्र चौधरी कुनै कुनै बेला सामाजिक सञ्जाल मार्फत सम्पर्कमा आउने गरेको न्यौपानेले जानकारी दिए । उनका अनुसार चौधरीले आफू सेनाको घेरामा रहेको जानकारी दिने गरेका छन । अन्य विद्यार्थी सम्पर्कबिहिन छन ।

उनले डेनी हमर भन्ने ठाउँमा रहेका नौजना विद्यार्थी भने सम्पर्कमा आएको जानकारी दिए । उनका अनुसार सबै विद्यार्थी घरमा बसिरहेका छन । उनीहरु सामाजिक सञ्जालमार्फत आफ्नो सम्पर्कमा आएको न्यौपानेले बताए ।

सम्पर्कमा आउनेमा बाजुराका रमेशबहादुर कार्की, रौतहटका विनोदप्रसाद साह, कैलालीका आभाष भट्टराई, कञ्चनपुरका नरेशसिँह भण्डारी, डडेल्धुराका लोकेन्द्र बिष्ट, कैलालीका रोहित नायक, रौतहटका निरञ्जन कुमार कुसहवा, कैलालीका अरविन्द कुमार चौधरी र बाँकेका उपेन्द्र जिसी रहेका छन ।

उनीहरुले बंकर नभएका कारण आफू असुरक्षित रहेको बताएको न्यौपानेले जानकारी दिए । निरन्तर भिडन्त भैरहेकाले कुनैपनि बेला आक्रमणमा पर्ने सम्भावना रहेको विद्यार्थीले बताएका छन । उनीहरुले आफू घरभित्र रहेकाले असुरक्षित महशुस भैरहेको बताएको न्यौपानेले जानकारी दिए ।

कृषि विज्ञान संकायले आन्तरिक परिक्षा र पठनपाठन रोकेको छ । 'यस्तो अवस्थामा कसरी पढाउनु’ न्यौपानेले भने -'हामी विद्यार्थीको अवस्थाको सोधीखोजीमै छौं ।’

कृषि विज्ञान तर्फ स्नातक तहको अन्तिम सेमिष्टारका ४९ जना विद्यार्थी मध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना गएका थिए । उनीहरु मध्ये १० जना छात्रा रहेका छन । उनीहरु १० महिनाका लागि इजरायल गएको न्यौपानेले बताए ।

विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत साताको १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा बस्ने उल्लेख थियो । कृषि विज्ञान संकायले कार्यक्रम अन्र्तगत पहिलो पटक विद्यार्थी पठाएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update