Hamro Patra
अभिनासले चट्काए छ विकेटः नेपाल १३८ रनले विजयी

टीकापुर, असोज १४

नेपालका बलर अभिनास बोहराले छ विकेट लिएपछि चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत टी-२० क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ ।

CMA Staff

२१३ रनको चुनौती पछ्याएको माल्दिभ्सलाई ७४ रनमा अलआउट गर्दै नेपालले सानदार जित दर्ता गरेको हो। नेपालको जितमा अभिनास बोहरा नायक बने ।

३.४ ओभर बलिङ गरेका अभिनासले ११ रन खर्चिएर ६ विकेट हात पारेका हुन् । बाँकी एक/एक विकेट सोमपाल कामी, गुल्सन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले लिए ।

माल्दिभ्सका लागि मुअभिथ गनेले सर्वाधिक ३६ रन बनाए । उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे। तर ६ ब्याटरले रनको खातै खोल्न सकेनन्। इस्माइल अलीले ३, फरिद शिउस १० रन बनाउँदा र रशीद रासम १२ रनमा नटआउट रहे ।

त्यसअघि नेपालले कप्तान रोहित पौडेलको अर्धशतकमा माल्दिभ्सलाई चुनौतीपूणर् लक्ष्य दिएको थियो। रोहितले २७ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा ५२ रन बनाएर रनआउट भए ।

कुशल मल्लले २० बलमा ४७ रनको नटआउट पारी खेले। उनले ३ चौका र २ छक्का प्रहार गरे। गुल्सन झाले ३५, कुशल भुर्तेतले ३५, विनोद भण्डारी १३, आशिफ शेखले ६, सन्दीप जोराले ५ रन जोड्दा दिपेन्द्र सिंह ऐरी ६ रनमा क्याचआउट हुन पुगे। सोमपाल कामी १ रनमा नटआउट रहे।

माल्दिभ्सका लागि नजवान स्माइलले ३ विकेट लिँदा नासिर नाइल इस्माइल, मोहमद मिउभान र थोलाल मोहमद रायाले समान एक/एक विकेट हात पारे। पहिलो खेलमा नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको थियो।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update