टीकापुर, असोज १२
कृषि र सम्बन्धित विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुको संस्था इन्टरनेशनल एसोसियसन अफ स्टुडेन्ट इन एग्रिकल्चर एण्ड रिलेटेड साइन्स (आइएएएस) नेपालको राष्ट्रिय सम्मेलन टीकापुरमा हुने भएको छ ।
सुदूरपश्चिम विश्व विद्यालय, कृषि विज्ञान संकायले आयोजना गरेको संस्थाको राष्ट्रिय सम्मेलन असोज १५ देखि १८ गतेसम्म टीकापुरमा हुने भएको हो ।
चार दिनसम्म सञ्चाचलन हुने सम्मेलनमा कृषि सम्बन्धी प्रस्तुतीकरण, विकास कोष प्रबद्र्धन, कृषि प्रविधि प्रदर्शन, समूहगत छलफल, फुड स्टल तथा साँस्कृतिक कार्यक्रम रहेको संस्थाका स्थानीय निर्देशक महेश रोकायले जानकारी दिए ।
सम्मेलनमा आगामी वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । संस्थासँग जोडिएका नेपालका १६ वटा क्याम्पसका प्रतिनिधिहरु सहभागी हुने सम्मेलनमा २ हजार बढी विद्यार्थीहरुको सहभागिता हुने संस्थाका सदस्य सुशील रेग्मीले बताए ।
कृषि प्रविधिमा भइरहेको विकास, विद्यार्थीहरुले भोगेका समस्या, पत्ता लागेका नयाँ तथ्यहरु प्रस्तुत हुने कार्यक्रममा पहिलो पटक टीकापुरमा हुन लागेको हो ।