Hamro Patra
टीकापुर बचतको ११ औ साधारण सभा सम्पन्नः बचतकर्ता र ऋणीलाई सम्मान

टीकापुर, असोज ११
टीकापुर बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा १६ लाख ३० हजार ८४९ रुपैयाँ खुदनाफा गरेको छ । संस्थाले शनिवार आफ्नो ११ औं वार्षिक साधारण सभाका अवसरमा प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

साधारण सभाले गत आर्थिक वर्षको ३ करोड ९० हजार ७७९ रुपैयाँ बराबरको आयव्यय अनुमोदन गरेको छ ।

कार्यकारी प्रमुख दीपक थापाले संस्थाको शेयरपूँजी ५६ लाख ७८ हजार रहेको बताए । संस्थाले गत आर्थिक वर्षमा १ करोड ४४ लाख ९ हजार २९८ रुपैयाँ निक्षेप संकलन गरेको छ ।

Khadga Memorial And Janajagriti

साधारण सभामा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । सेवा निवृत्त हुन लागेका संस्थाका कार्यकारी प्रमुख प्रकाश शाहलाई कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिकाका उपमेयर केशरी रावल बिष्टले दोसल्ला ओढाएर शाहलाई सम्मान गरिन ।

संस्थाले सरकारी विद्यालयबाट एसईई परीक्षामा सुदूरपश्चिममै सबैभन्दा बढी अंक हासिल गरेर उत्तीर्ण हुने खड्ग स्मृति माविका छात्र प्रिन्स न्यौपानेलाई नगद सहित पुरस्कृत गरिएको छ ।

संस्थाले ४ जना उत्कृष्ठ बचतकर्ता र २ जना ऋणीलाई समेत मायाको चिनो सहित सम्मान गरेको छ । सम्मानित हुनेमा बचतकर्ताहरुमा लक्ष्मीदेवी रावल, द्वारीका तिमिल्सिना, चक्रबहादुर बिष्ट, विशाल चौधरी र ऋणीतर्फ नन्दराम बोगटी, रुपबहादुर कठरिया रहेका छन ।

समारोहमा बोल्दै प्रमुख अतिथि उपमेयर रावलले सहकारी नाफामूखी भन्दा पनि सेवामूखी हुनुपर्नेमा जोड दिएकी छन । उनले सहकारी साना व्यवशायीको सहयात्री बन्नुपर्ने बताईन ।

उद्घाटन समारोहमा टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्य, टीकापुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष रामबहादुर भण्डारी, पूर्वअध्यक्ष नवराज रावल, सल्लाहकार गंगाराम चपाँई, लेखा समिति पूर्वसंयोजक सीताराम रिमाल, संस्थाका पूर्वअध्यक्ष भीमबहादुर शाह, शेयरधनी हृदयराज रेग्मी लगायतले बोलेका थिए ।

यो सहकारी २५ जना युवाको समूहले मासिक २५ रुपैयाँ जम्मा गरेर सुरु गरेका थिए । हाल विभिन्न स्थानीयस्तरमा प्रतिष्ठित व्यक्तिहरु समेत सहकारीमा आवद्ध छन । सहकारीले न्यून लगानी भएका व्यवशायीहरुको ब्यापार व्यवशायलाई सघाउने रणनीति लिएको बताईएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ११, २०७६  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update