Hamro Patra
कार्यपालिका बैठकको निर्णयमाथि प्रमुख प्रशासकीय बिष्टको धावा

टीकापुर, असोज १२

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर बिष्टले कार्यपालिकाको निर्णय उल्ट्याई दिएका छन । विष्टले २०८० जेठ २० गतेको १६ औं कार्यपालिका बैठकले गरेको निर्णय उल्ट्याएका हुन ।

उनले सो बैठकको निर्णय नम्बर १० ले जिम्मेवारी खोसिएका सिभिल इञ्जिनियर नवराज जोशीलाई पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाको प्रमुखमा पुर्नबहाली गरेका छन । उनले २०८० असोज १० गते देखि लागु हुने गरी जोशीलाई शाखा प्रमुखको जिम्मेवारी तोकिएको व्यहोरा सहितको पत्र दिएका छन ।

Khadga Memorial And Janajagriti

लामो समयदेखि शाखा प्रमुखको जिम्मेवारीमा रहेका जोशीलाई सडक बोर्ड नेपाल अन्र्तगतको कार्यक्रममा बदमासी गरेको भन्दै कारवाही स्वरुप जिम्मेवारी खोसिएको थियो । उनले टीकापुर नगरपालिका वडा नम्बर ७ बैदी जाने सडक आफू खुशी मर्मत गरेका थिए । सो सडक गुणस्तरहीन भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको थियो ।

आयोगले सडक मर्मत गर्न लगाएको थियो । मर्मत गरेको सडक समेत एक वर्ष नपुग्दै पुनः भत्किए पछि नगरपालिकाको तर्फबाट प्राविधिक पक्ष हेरेका जोशी दवावमा परेका थिए । उनले आयोगको कारवाहीबाट जोगिन नगरपालिकालाई जानकारी नै नदिई आफू खुशी सडक मर्मत गर्न लगाएका थिए ।

उनले कार्यपालिका बैठकले अन्यत्र मर्मत गर्न निर्णय गरेको सडकको रकमलाई आफू खुशी अख्तियारमा मुद्दा परेको सडकमा खर्च गरेर दुरुपयोग गरेको भन्दै कारवाही भएको थियो । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाहीले निर्णयमा व्यहोरा उल्लेख नभए पनि सोही घटनामा जोशीलाई कारवाही भएको जानकारी दिए ।

उनले कार्यपालिका बैठकमा जोशीले सम्हाल्दै आएको जिम्मेवारी इञ्जिनियर नविन ओझालाई दिइएको बताए । निर्णयमा इञ्जिनियर ओझालाई अर्को व्यवस्था नभएसम्म शाखाको जिम्मेवारी तोक्ने उल्लेख छ ।
त्यस यता शाखाको जिम्मेवारी सम्हाल्दै आएका इञ्जिनियर ओझाले स्वास्थ्य समस्याका कारण भन्दै शाखा प्रमुखबाट असोज ९ गते राजिनामा दिएका छन । उनलाई शाखाको जिम्मेवारी सम्हालेदेखि नै जोशीले दबाव दिँदै आएका थिए । उनीहरु दुबैजना आफन्त समेत हुन ।

यही असोज २ गते प्रमुख प्रशासकीय अधिकृतका रुपमा बिष्ट आएपछि ओझा माथिको दवाव बढ्दै गएको थियो । ओझाले अनावश्यक दबावमा रहेर काम गर्नु भन्दा राजिनामा दिन उपयुक्त ठानेको स्रोतको दाबी छ । यस बारेमा ओझाले कुनै प्रतिक्रिया जनाउन चाहेनन् । उनले आफू बिरामी भएकाले दुई दिनदेखी विदामा रहेको बताए ।

भुक्तानीको सेटिङ मिलाउँदै कार्यकारी विष्ट

कार्यपालिका बैठकले गरेको निर्णय मिचेका प्रमुख प्रशासकीय अधिकृत बिष्टले सबैसँगको सरसल्लाहमा यस्तो कदम उठाएको बताए । कार्यपालिका बैठकले गरेको निर्णय उल्ट्याउन सक्ने कानूनी आधार के हो ? भन्ने प्रश्नको जवाफमा उनले थप बोल्न चाहेनन् । ‘यस्ता विषय टेलिफोनमा गर्नुहुन्न’ उनले भने –‘कार्यालयमा आउनुस् बसेर कुरा गरौं ।’ उनले अन्त्यमा यस विषयमा समाचार नलेख्न समेत आग्रह गरे ।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुको मोबाइल रिसिभ गर्ने व्यक्तिले बिग्रेर मर्मतका लागि छोडिएको बताए भने उपप्रमुख खडकबहादुर शाहले यस विषयमा कुनै सरसल्लाह नभएको र आफूलाई कुनै जानकारी नभएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत बिष्टले कार्यपालिका बैठकले गरेको नीतिगत निर्णय विरुद्ध चालेको कदमलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । उनले जोशीलाई सो शाखाको जिम्मेवारी दिएर कारितास नेपालसँग सम्झौता भएको भनिएको बाढी प्रभावित घर परिवारका लागि कम लागतमा बाढी प्रतिरोधक आवास निर्माण परियोजनाको काम सम्पन्न गर्न खोजेको देखिन्छ ।

परियोजना अन्र्तगत घर निर्माण वाफत नगरपालिकाले भुक्तानी गर्नुपर्ने १ करोड ३० लाख रुपैयाँ भुक्तानी हुन सकेको छैन । तत्कालिन प्रमुख प्रशासकीय अधिकृतले प्रकृया नपुगेको भन्दै सम्झौतामा हस्ताक्षर गर्न नमानेपछि परियोजनाको काम रोकिएको छ । रोकिएको सोही कामलाई सम्पन्न गराउन प्रमुख थारुले बिष्टलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा रोजेको स्रोतको दाबी छ ।

सम्बन्धित अन्य समाचार

 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update