टीकापुर, असोज ११
सुदूरपश्चिम प्रदेश प्रहरीले पछिल्लो दुई महिनामा मात्रै भन्सार छली भएर आएको पाने तीन करोड बढीको सामान बरामद गरेको छ ।
प्रदेशका विभिन्न जिल्लाबाट हुने भन्सार छली रोक्न एक्सनमा उत्रिएको प्रहरीले कैलाली र कञ्चनपुरबाट चालु आर्थिक वर्षको दुई महिनामै पौने तीन करोड मूल्य बराबरमा भन्सार छलीको मालसमान बरामद गरेको हो ।
प्रहरीले सीमा क्षेत्रबाट साउन र भदौमा २ करोड ७४ लाख ४३ हजार ६ शय १३ रुपैयाँ मूल्य बराबरको भन्सार छलीको मालसमान बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रहरीले साउनमा भन्सार छलीमा संलग्न ३१ जनालाई नियन्त्रणमा लिएको छ भने १ करोड ३ लाख ८८ हजार ६३ मूल्य बराबरको सामान बरामद गरेर भन्सार कार्यालयमा दाखिला गरेको छ ।
यस्तै, भदौमा ८ जना पक्राउ परेका छन् भने १ करोठ २४ लाख ७८ हजार ६२ रुपैयाँ र असोज महिनामा ११ गतेसम्म प्रहरीले तस्करी भइरहेको ४५ लाख ७७ हजार ४ शय ८८ मूल्य बराबरको मूल्य बराबरको विभिन्न किराना तथा हार्डवेयर सामान बरामद गरिएको प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराले बताए ।
प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक बोहराले आर्थिक वर्ष २०७९/०८० मा ४ करोड ४९ लाख ३२ हजार ७ शय ८ रुपैयाँ मूल्य बराबरको सामान बरामद हुँदा प्रहरीले तस्करीमा संलग्न १ शय ३ जनालाई पक्राउ गरिएको बताए ।
भन्सार छली रोक्न प्रहरीले सक्रियता देखाएकाले यो वर्ष अन्य वर्षको तुलनमा तेब्बरले भन्सार छलीको मालसमान बरामद हुने प्रहरी अनुमान छ ।