टीकापुर, असोज ११
कैलालीको टीकापुरमा सुष्मा कोइराला मेमोरियल अस्पतालको आयोजना गरिएको निःशुल्क प्लास्टिक सर्जरी शिविरमा ९ सय ९६ जनाले उपचार सेवा लिएका छन् ।
शिविरमा ४ शय ४७ पुरुष र ५ शय ४९ महिलाले उपचार सेवा लिएका हुन् । शिविरमा उपचार सेवा लिनेमध्ये २ शय ४० जनाको शल्यक्रिया गरिएको छ ।
उपचार सेवा लिन आएकामध्ये १ शय ७६ जनालाई थप उपचारका लागि सुष्मा कोइराला अस्पताल काठमाडौँ पठाइएको छ । यसरी पठाइएकाहरुको समेत निःशुल्क उपचार हुने अस्पतालले जनाएको छ ।
काठमाडौँमै गएर उपचार गर्नुपर्ने भएकाले त्यहाँ पठाइएको अस्पतालका प्रमुख प्रशासक प्रफुल्ल शर्माले बताए । ‘यहाँ उपचार सम्भव नभएकाहरुलाई काठमाडौँ पठाएका छौँ, त्यहाँ पनि निःशुल्क उपचार सेवा पाउनेछन’ उनले भने ‘यहाँबाट काठमाडौँसम्म पुर्याउने व्यवस्था बिरामीका आफन्तले गर्नुहुन्छ, उपचार सेवा सबै निःशुल्क हुनेछ ।’
शर्माका अनुसार उपचार सेवा लिनेमा बच्चादेखि वृद्धसम्म रहेका छन् । शिविरमा पाँच वर्ष मुनिका ६७ जनाले उपचार सेवा लिएकामा पाँच जनाको शल्यक्रिया गरिएको छ । पाँचदेखि १५ वर्ष उमेरभित्रका एक सय २९ जना परीक्षणमा आएकामा ४३ को उपचार गरिएको जनाइएको छ ।
चार दिनसम्म टीकापुर अस्पतालमा सञ्चालित शिविर समापन कार्यक्रममा नगर प्रमुख रामलाल डगौरा थारुले विपन्न समुदाय यो शिविरबाट लाभान्वित भएको र यस्ता शिविर थप गर्न माग आइरहेको बताए । नगर प्रमुख थारुले निःशुल्क सेवा दिन टीकापुर पुगेको अस्पतालको टोलीलाई धन्यवाद दिँदै मानवीय भावना र दायित्व पूरा गर्न सहयोग मिलेको बताए ।
नगरपालिकाका जनस्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले सामाजिक भावनाका साथ सञ्चालन भएको शिविरमा थप उपचारका लागि काठमाडौँ पठाइएको र भएका विपन्न नागरिकलाई यातायात खर्च नगरपालिकाले सहयोग गर्ने बताए ।
‘काठमाडौँमा उपचारमा जाने विपन्न बिरामीलाई यातायात खर्च पालिकाले ब्यहोर्ने छ’ उनले भने, ‘जलन तथा आगोले पोलेका नागरिकले सेवा पाउन भन्ने उद्देश्यले शिविर सञ्चालन गर्रिएको हो ।’ टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले जलनको सेवा नेपालका दुई ठाउँमा मात्रै हुँदा नागरिकलाई समस्या भइरहेको अवस्थामा टीकापुरमै आएर सेवा दिएकामा धन्यवाद दिए ।
असोज ७ बाट १० गतेसम्म सञ्चालन भएको शिविर सुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौँको प्राविधिक सहयोग तथा नगरपालिका र टीकापुर अस्पतालको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।