Hamro Patra
माओवादी सुदूरपश्चिमका उपाध्यक्ष बडुवालको निधन

टीकापुर, असोज ११

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल (महेश) को निधन भएको छ । जनयुद्धको क्रममा सुर्खेत जेल ब्रेक गरेर उम्किएका उनी निमोनियाबाट पीडित थिए ।

CMA Staff

माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानको क्रममा डोटीमा खटिएका बडुवाल स्वास्थ्यमा समस्या आएपछि गृह जिल्ला कैलाली फर्किएर सामान्य उपचार गराउँदै आएका थिए । स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि भारतको लखनउ लैजाँदै गर्दा बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गत २०७१ साल असोज २० गते डोटीको कटकटे भन्ने स्थानमा भएको बस दुर्घटनामा परी बडुवालकी श्रीमती र एक छोराको मृत्यु भएको थियो । सो बस दुर्घटनामा २९ जनाको मृत्यु भएको थियो ।

पारिवारिक श्रोतका अनुसार स्वास्थ्य गम्भीर भएपछि उनलाई काठमाडौंमा उपचार गर्न ल्याउने भनेर नेपालगञ्ज एयरपोर्टसम्म ल्याइएको थियो । तर हवाईजहाजका कर्मचारीहरुले धेरै उचाइबाट उड्नुपर्ने भएकाले बिरामीलाई झन् समस्या पर्ने भन्दै ल्याउन मानेनन् ।

त्यसपछि हेलिकप्टरको प्रबन्ध गर्न खोज्दा पनि नसकेपछि एम्बुलेन्समार्फत् भारतको लखनउ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।

बडुवाल सुदूरपश्चिममा जनसम्बन्ध राम्रो भएका नेताको रुपमा पार्टीभित्र चिनिन्छन् । उनी २०६४ सालको संविधानसभा सदस्य भगतबहादुर बडुवालका भाइ हुन् ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update