Hamro Patra
बाढी प्रभावितका घर निर्माणमा मेयरको हस्तक्षेप, अधिकांश घर आफ्नै टोलमा

टीकापुर, असोज १०

टीकापुर नगरपालिकाले गैरसरकारी संस्था कारितास नेपालसँगको लागत साझेदारीमा निर्माण गरेका ५० मध्ये झण्डै आधा घर नगरप्रमुख रामलाल डगौरा थारुले आफ्नै टोलमा निर्माण गरेका छन ।

सम्झौतामा २०७९ सालको बाढीबाट प्रभावित घरपरिवारको वास्तविक तथ्यांकको आधारमा लाभग्राहीहरु छनौट गरेर घर निर्माण गर्ने उल्लेख भएपनि नगरप्रमुख थारुको टोल टीकापुर नगरपालिका वडा नं. ७ पर्तिपुरमा मात्रै २० वटा घर निर्माण भएका छन । समाचार स्रोतका अनुसार पर्तिपुरमा निर्माण भएका २० मध्ये अधिकांश घर नगरप्रमुख थारुकै आफन्तका रहेका छन ।

Khadga Memorial And Janajagriti

यस सम्बन्धी थप समाचार पढ्नुहोस्

ती बाहेकका ३० घर ५/५ का दरले अन्य ६ वटा वडामा निर्माण गरिएका छन । प्राप्त जानकारी अनुसार ती घरहरु वडा नं. २, ३, ४, ५, ८ र ९ मा निर्माण भएका छन । बाढी प्रभावित रहेको वडा नं. ६ मा भने एउटा घर पनि निर्माण भएको छैन । वडा नं. ६ का भर्तापुर, मिलनपुर लगायतका गाउँमा पथरैया नदीमा आएको बाढीका कारण वर्षेनी अधिकांश घर डुबानमा पर्ने गरेका छन ।

टीकापुर नगरपालिका विपद व्यवस्थापन उपशाखाका अनुसार यो वर्ष वडा नं. ६ मा धेरै घर डुबानमा परेका छन । अघिल्लो वर्ष भने यहाँ ८ वटा घर पूर्ण रुपमा क्षति भएका थिए ।

उपशाखाका अनुसार २०७९ सालमा नगरपालिकाका विभिन्न वडामा ४४ घर पूर्ण रुपमा क्षति भएका छन । ती मध्ये अधिकांश वडा नम्बर ७ मा २३ घर रहेको उपशाखा प्रमुख निर्मला चौधरीले जानकारी दिईन । उनका अनुसार पर्तिपुर, बैदी, सुन्दरपुर र डिबीपुरमा धेरै घर भत्किएका थिए । उनले यसवर्ष वडा नं. ७ मा बाढीले खाशै असर नगरेको बताईन ।

‘बाढीको कुनै भर हुन्न । हरेक वर्ष फरक फरक ठाउँमा असर गर्ने गरेको पाइन्छ’ उनले भनिन् –‘तर मोटामोटी वर्षेनी वडा नं. ६, ७, ९ मा बढी असर गर्ने गरेको पाइन्छ ।’

परियोजना अन्र्तगत बाढी प्रभावितका घर निर्माण गर्दा बाढीको वास्तविक तथ्यांक राख्ने विपद व्यवस्थापन उपशाखासँग समन्वय हुनुपर्ने हो । तर परियोजनाले उपशाखालाई वेवास्ता गर्दै आफु खुशी छनौट गरेर घर निर्माण गरेको देखिन्छ । घर छनौटमा वडाध्यक्ष र बडघरलाई सकृय बनाईएको भनिए पनि नगरप्रमुख थारुले हस्तक्षेप गरेर आफ्नै टोलमा अधिकांश घर निर्माण गर्न दवाव दिएको स्रोतको दावी छ ।

वडा नं. ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले नगर प्रमुखको हस्तक्षेप अस्विकार गरेका छन । उनले गाउँ भेला गरेर वास्तविक प्रभावितको पहिचान गरिएको बताए । ‘मेयर माथि लागेको आरोप गलत हो’ उनले भने –‘गाउँले आफैले घर छनौट गरेका हुन । यसमा कुनै बदमासी भएको छैन ।’

कारितास नेपालका परियोजना संयोजक नरेन्द्र केसीले नगरपालिकाले उपलब्ध गराएको घरधनीको नामावलीका आधारमा घर निर्माण गरिएको जानकारी दिए । उनले कार्यपालिकाको निर्णय भन्दै नगरपालिकाले घरधनीको नाम उपलब्ध गराएको बताए ।

नगरपालिकाले प्रकृया मिचेर गैरसरकारी संस्था कारितास नेपालसँग मिलेर बाढी प्रभावित घर परिवारका लागि कम लागतमा बाढी प्रतिरोधात्मक आवास निर्माण परियोजनाका नाममा आफु खुशी घर निर्माण गरेपछि चर्को विरोध भैरहेको छ । नगर प्रमुखले आफु खुशी सम्झौतामा हस्ताक्षर गरेर आर्थिक भार थपेको भन्दै प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतले सम्झौतामा हस्ताक्षर गर्न मानेका छैनन् ।

नगरपालिकाले सम्झौतामा उल्लेख भए अनुसार घर निर्माणका लागि १ करोड ३० लाख रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । नगरप्रमुखको चर्को दबावका बाबजुद समेत यसअघिका प्रमुख प्रशासकिय अधिकृतहरुले प्रकृया नपुगेको भन्दै रकम भुक्तानी गर्न मानेका थिएनन् ।

रकम भुक्तानी गर्न नमानेपछि उपसचिव रहेका प्रमुख प्रशासकिय अधिकृत मंगलबहादुर शाहीको सरुवा गरिएको छ । निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएका शिक्षातर्फका उपसचिव दमनसिंह चौधरीले समेत रकम भुक्तानी गर्न नमाने पछि शाखा अधिकृत रहेका नारायणबहादुर बिष्टलाई प्रमुख प्रशासकिय अधिकृतका रुपमा ल्याइएको छ ।

उनी नगर प्रमुख थारुलाई सहयोग गर्ने शर्तमा सरुवा भएर आएको स्रोतको दावी छ । उनी स्थानीय समेत हुन । उनी यसअघि पनि टीकापुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रहिसकेका थिए ।

सम्झौता १५ अप्रिल २०२३ देखि ३० नोभेम्बर २०२३ सम्म लागु हुने उल्लेख छ । सम्झौतामा नगरपालिकाका तर्फबाट नगर प्रमुख थारु, उपप्रमुख खडकबहादुर शाह र कारितास नेपालका तर्फबाट प्रदेश व्यवस्थापक जनकप्रसाद शर्माले हस्ताक्षर गरेका छन ।

सो सम्झौता पत्रमा कारितास नेपालका कार्यकारी निर्देशक फादर ललित टुड, टीकापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दमनसिँह चौधरी र लेखा अधिकृत लक्ष्मी ओडको नाम उल्लेख भएपनि तीनै जनाले हस्ताक्षर गरेका छैनन् ।

 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update