Hamro Patra
सम्झौता नहुँदै भवन निर्माणः भुक्तानीको सेटिङ मिलाउँदै कार्यकारी विष्ट

टीकापुर, असोज ९

टीकापुर नगरपालिकाले प्रकृया मिचेर बाढी प्रभावितका नाममा घर निर्माण गरेको छ । गैरसरकारी संस्था कारितास नेपालसँगको लागत सहभागीतामा बाढी प्रभावित घरपरिवारका लागि कम लागतमा बाढी प्रतिरोधात्मक आवास निर्माण परियोजनाका नाममा घर निर्माण गरिएका हुन ।

परियोजनाका नाममा विभिन्न वडामा ५० वटा घर निर्माण भएका छन । ती मध्ये कतिपय घर निर्माण सम्पन्न भैसकेका छन भने कतिपय घर निर्माणाधिन अवस्थामा छन । वडा नं. ७ पर्तिपुरमा मात्रै २० वटा घर निर्माण भएका छन । पर्तिपुर नगर प्रमुख रामलाल डगौरा थारुको गाउँ हो । अन्य ६ वडामा भने पाँच÷पाँचका दरले घर निर्माण भएका छन ।

Khadga Memorial And Janajagriti

सम्झौतामा परियोजनाको लक्षित वर्गमा २०७९ सालको बाढीबाट प्रभावित ५० घरपरिवारहरु उल्लेख भएपनि घरपरिवार छनौट हचुवाका आधारमा भएको जनगुनासो छ । बाढी प्रभावितको घर छनौट गर्दा नगरपालिका भित्र रहेको विपद व्यवस्थापन उपशाखासँग समन्वय गर्नुपर्नेमा त्यसो नगरेको पाइएको छ ।

‘हामीसँग कुनै समन्वय भएको छैन’ उपशाखा प्रमुख निर्मला चौधरीले भनिन् –‘समन्वय गरेको भए जानकारी दिन गाह्रो थिएन ।’ उपशाखाका अनुसार सबैभन्दा धेरै बाढी प्रभावित क्षेत्र मध्ये वडा नम्बर ६ को भर्तापुर, मिलनपुर, वडा नं. ७ को पर्तिपुर, बैदी र वडा नम्बर ८ को रामडाँडा टोल हुन । सबैभन्दा धेरै बाढी प्रभावित क्षेत्र रहेको वडा नम्बर ६ का भर्तापुर र मिलनपुरमा परियोजना अन्र्तगत घर निर्माण भएका छैनन् ।

नगरपालिकाको प्रवक्ता समेत रहेका वडा नम्बर ६ का वडाध्यक्ष बलिराम चौधरीले परियोजनाको नजरमा आफ्नो वडा बाढी प्रभावित क्षेत्र नभएको हुनसक्ने बताए । उनले घर छनौटमा असहमति जनाए पछि वडा नम्बर ६ का कुनैपनि घर छनौटमा नपारेको बताईएको छ । उनले परियोजनाका बारेमा आफूलाई कुनै जानकारी नभएको बताए ।

घरधुरी छनौटमा विपद व्यवस्थापन उपशाखालाई वेवास्ता गर्दै वडाध्यक्ष र बडघरलाई सकृय बनाईएको छ । वडाध्यक्ष र बडघरले आफू अनुकुलका व्यक्तिहरुलाई घर निर्माणका लागि सिफारिस गरेको आरोप छ । वडा नम्बर ७ का वडाध्यक्ष यज्ञ न्यौपानेले टोल भेला गरेर घर छनौट गरिएको बताए । उनले सबैको सहमतिमा वास्तविक बाढी प्रभावितको घर निर्माण गरिएको बताए ।

‘उनीहरु आफैले सहमति गरेर नाम दिएका हुन । हामीले कुनै हस्तक्षेप गरेका छैनौं’ उनले भने –‘वास्तविक पीडितले घरबास पाएका छन । यसमा कुनै बदमासी भएको छैन ।’

एउटा घरको लागत ४ लाख २० हजार रुपैयाँ रहेको छ । जसमध्ये ६० प्रतिशत अर्थात २ लाख ६० हजार रुपैयाँ नगरपालिकाले र ४० प्रतिशत अर्थात १ लाख ६० हजार कारितास नेपालले ब्यहोर्ने सहमति भएको छ । नगरपालिकाले मात्रै घर निर्माणमा १ करोड ३० लाख रुपैयाँ खर्च गर्ने भएको छ ।

कारितास नेपालले सुरुमा २५ वटा घर टीकापुर नगरपालिका र २५ वटा घर भजनी नगरपालिकामा निर्माण गर्ने प्रस्ताव गरेको थियो । भजनी नगरपालिकाले लागत सहभागिता गर्न नसक्ने भनेपछि ५० वटै घर टीकापुर नगरपालिकाले निर्माण गर्न सहमत भएको बताईन्छ ।

परियोजनाका बारेमा नगरपालिका र कारितास नेपालबिच सम्झौता भएको देखिन्छ । तर सम्झौता कुन मितिमा भएको हो भन्ने उल्लेख छैन । दुई पक्षबिच भएको सम्झौता नै अस्पष्ट छ । परियोजनाको जम्मा बजेट २१ करोड उल्लेख छ । तर परियोजनाको घर संख्या र जनश्रमदान सहितको बजेट रकम ३ करोड ५६ लाख ५० हजार मात्रै हुन्छ । त्यस्तै सम्झौताको दोस्रो पक्षको बुँदा नं. १.१ मा टीकापुर नगरपालिका हुनुपर्नेमा भजनी नगरपालिका उल्लेख छ ।

सम्झौता १५ अप्रिल २०२३ देखी ३० नोभेम्बर २०२३ सम्म लागु हुने मात्रै उल्लेख छ । सम्झौतामा नगरपालिकाका तर्फबाट नगर प्रमुख थारु, उपप्रमुख खडकबहादुर शाह र कारितास नेपालका तर्फबाट प्रदेश व्यवस्थापक जनकप्रसाद शर्माले हस्ताक्षर गरेका छन ।

सो सम्झौता पत्रमा कारितास नेपालका कार्यकारी निर्देशक फादर ललित टुड, टीकापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दमनसिँह चौधरी र लेखा अधिकृत लक्ष्मी ओडको नाम उल्लेख भएपनि तीनै जनाले हस्ताक्षर गरेका छैनन् ।

निमित्त प्रमुख प्रशासकिय अधिकृत चौधरी र लेखा अधिकृत ओडले हस्ताक्षर गर्न नमाने पछि परियोजनाको थप काम अघि बढ्न सकेन । तर सम्झौता भए लगत्तै कारितास नेपालले घर निर्माणको काम भने सुरु गरेको थियो । सम्झौता भएको केही समय पछि प्रमुख प्रशासकिय अधिकृतका रुपमा आएका मंगलबहादुर शाहीले समेत प्रकृया नै गलत भएको भन्दै हस्ताक्षर गर्न मानेनन् । छोटो समयमै शाहीको समेत सरुवा भयो ।

नगर प्रमुखले पुनः निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएका चौधरीलाई हस्ताक्षरका लागि फेरी दवाव दिए । चौधरीले नगर प्रमुखको दवावलाई अस्विकार गरे । उनले अरु नै प्रमुख प्रशासकिय अधिकृत ल्याएर काम गराउन जवाफ दिए ।

सोही क्रममा नगर प्रमुख थारुले भनेको मान्ने प्रमुख प्रशासकिय अधिकृतको खोजी सुरु गरे । उनले छिमेकमै रहेको जानकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण बिष्टलाई ल्याउने योजना बनाए । उपसचिवको दरबन्दी रहेको नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा शाखा अधिकृत रहेका बिष्ट हालै सरुवा भएर आएका छन । यसअघि समेत यसै नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रहिसकेका उनी स्थानीय समेत हुन ।

प्रमुख प्रशासकिय अधिकृत भएर आएका बिष्टले परियोजनाको कामलाई अघि बढाउने तर्फ पहल थालेका छन । उनले निर्माण सम्पन्न भएका र निर्माणाधिन घरहरुको स्थलगत अवलोकन समेत गरे । उनले स्थलगत अवलोकनका क्रममा जनताका पक्षमा काम भएको प्रतिक्रिया दिए ।

नगरपालिकाले यति ठूलो रकम अपारदर्शी ढंगले खर्च गर्न खोजेको देखिन्छ । कारितास नेपालले प्रकृया अनुसार लागत सम्झौताको ठूलो हिस्सा खर्च गर्नुपर्ने जिम्मेवारी बोकेको नगरपालिकाको खातामा रकम जमा गर्नुपर्ने हो । तर सम्झौताको बुँदा नम्बर १.४ मा नगरपालिकाले उल्टो कारितास नेपालको खातामा रकम जमा गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रमुख प्रशासकिय अधिकृतले हस्ताक्षर गर्न नमानेका कारण अहिलेसम्म नगरपालिकाले रकम भुक्तानी भने गरेको छैन । सोही रकम भुक्तानी गर्न नगर प्रमुख थारुले अनेक जुक्ति लगाईरहेका छन । सम्झौता गर्दा सहमत देखिएका नगर उपप्रमुख शाह समेत अहिले असहमत देखिएको बताईएको छ । उनको मोवाइल अफ भएकाले सम्पर्क हुन सकेन ।

नगर प्रमुख थारुले भने प्रकृया अनुसार नै परियोजनाको काम अघि बढेको बताएका छन । उनले सम्झौतामा उल्लेख भए अनुसार काम सम्पन्न हुने जानकारी दिए । उनले जनताको घर बनाउने काम गलत नभएको बताउँदै परियोजनाको काम जनताको हितमा भएको दावी गरे ।

उनले प्रकृया बारे प्रश्न गरेपछि अहिले आफू व्यस्त रहेको र पछि कुरा गर्ने भन्दै कल सम्पर्क विच्छेद गरेका थिए । ‘म अहिले ब्यस्त छु’ उनले भने –‘पछि कुरा गरौंला ।’

कारितास नेपालले भने सबै घरधनीको खातामा रकम जम्मा गरिसकेको बताएको छ । परियोजना संयोजक नरेन्द्र केसीले संस्थाले कुल ८० लाख मध्ये ७५ लाख रुपैयाँ सम्बन्धित घरधनीका खातामा जम्मा गरिसकेको जानकारी दिए । उनले प्रभु बैंकमा सबै घरधनीको खाता खोलिएको बताए ।

घर निर्माण कार्यलाई प्रभावकारी बनाउन परियोजनाले सुन्दरी चौधरीको अध्यक्षतामा नौ सदस्यीय उपभोक्ता समिति समेत गठन गरेको छ । उपभोक्ता समितिका अलावा सम्बन्धित वडाध्यक्षले समेत परियोजनाको कामलाई नियमित अवलोकन गर्ने गरेको बताईएको छ ।

परियोजनाका अनुसार घर निर्माण पश्चात ३ सय ११ व्यक्ति लाभान्वित भएका छन । ती मध्ये १६५ महिला र १४६ पुरुष छन । घरधनीमा सबैभन्दा धेरै थारु समुदाय छन । परियोजनाले ३९ जना थारु, ८ जना दलित, २ जना क्षत्री र १ जना जनजातिको घर निर्माण गरेको छ । जसमध्ये ७ जना फरक क्षमता र ७ जना एकल महिला छन ।

नगरपालिकाले प्रकृया मिचेर घर निर्माण गरेको भएपनि घरधनीहरु भने घर निर्माण पश्चात निकै खुशी देखिएका छन । उनीहरुले वर्षेनी बाढीको डुबानबाट हुने समस्याबाट मुक्त भएकोमा खुशी व्यक्त गरे ।

टीकापुर नगरपालिका वडा नं. ७ पर्तिपुरकी डम्बर डगौरा थारुले अब गाउँमा बाढी पस्दा ज्यान जोगाउन उच्च घर जानपर्ने वाध्यता अन्त्य भएको बताईन । उनले पक्की घरमा बस्न पाएकोमा खुशी लागेको बताईन ।

वडा नम्बर ४ की सहिना चौधरी र आशा चौधरीले समेत पक्की घरमा बस्न पाएकोमा खुशी लागेको बताएका छन । उनीहरुको यसअघि माटोले बनेको सामान्य घर थियो । उनीहरु दुवैजना छिमेकी हुन । उनीहरुको परिवार ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update