Hamro Patra
विद्युत अनियमित हुँदा हैरानी

टीकापुर, असोज ४

कैलालीको टीकापुरमा केही दिनयता विद्युत अनियमित हुँदा उपभोक्ताहरु हैरान भएका छन् । विना सूचना नेपाल विद्युत प्राधिकरणले पटक पटक बत्ती काट्न थालेपछि यहाँका विद्युत उपभोक्ताहरु हैरान भएका हुन् ।

विद्युत अनयमित हुँदा व्यापार व्यवसायसँगै उद्योग, कलकारखानाको उत्पादनमा समेत असर पर्ने गरेको छ ।

Khadga Memorial And Janajagriti

यस क्षेत्रमा रहेका राइस मिल, फ्लोर मिल, डेरी उद्योग, फर्निचर उद्योग, सःमिल, फोटो स्टुडियो लगायत दर्जनौं प्रकृतिका व्यवसायीहरु हैरान भएको एक गार्मेन्ट उद्योगका सञ्चालकले बताए ।

‘केही दिनयता दिनमै १०/१२ पटकसम्म विद्युत आउने जाने गरेको छ’ उनले भने ‘जसका कारण हाम्रा मेसिनहरुमा समस्या देखिएको छ, उत्पादनमा नै असर देखिएको छ ।’

रातको समयमा समेत पछिल्लो समय विद्युत अनियमित हुने गरेको स्थानीय रामबहादुर चौधरीले बताए । ‘हिजो राति मात्रै ८/९ पटक विद्युत गयो होला’ उनले भने ‘झ्याप्प जान्छ, झ्याप्प आउँछ, पंखा समेत बिग्रिए मेरो त ।’

यता, विद्युत प्राधिकरण टीकापुर वितरण केन्द्रका निमित्त प्रमुख जीतबहादुर धामीले टीकापुर क्षेत्रका कतिपय पूराना ट्रान्सफर्मर हटाएर नयाँ राख्ने कार्य भइरहेकाले विद्युत अनियमित भइरहेको बताए ।

‘विद्युतको माग अनुसार पूराना टान्सफर्मरहरु हटाएर नयाँ राख्ने कार्य भइरहेको छ’ धामीले भने ‘यसअघि टीकापुरमा ८ एमबीएको टान्सफर्मर रहेकोमा हाल १६.५ एमबीएको टान्सफर्मर जडान भएर फिडरको काम भइरहेकाले केही दिनमै यो समस्या समाधान हुन्छ ।’

टीकापुर बजार क्षेत्रमा भइरहेको निर्माण, हावाहुरी र विद्युत लिक हुँदा समेत पटक पटक विद्युत जाने समस्या हुने गरेको निमित्त प्रमुख धामीले स्वीकारे । ‘सिस्टमबाटै पनि कहिलेकाहिं बत्ती गएको हुन्छ’ धामीले भने ‘नयाँ टान्सफर्मरको काम सम्पन्न हुन दश दिन जति समय लाग्छ होला, त्यसपछि यो समस्या रहँदैन ।’

पटक पटक बत्ती जाँदा हैरान भएका यहाँका उपभोक्ताहरुले विद्युत आपूर्ति सहज बनाउन माग गर्दै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update